कालीकोटमा पहुँचवालाको धारामा मात्र आउँँछ खानेपानी

हिमाल प्रेस ११ मंसिर २०७९ १७:५४ | Sunday, November 27, 2022
कालीकोटमा पहुँचवालाको धारामा मात्र आउँँछ खानेपानी फाइल तस्बिर।

मन्मा– कालीकोटको सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ। खानेपानीको चरम समस्या पर्दा पनि नगरपालिकाले चासो नदेखाएको भन्दै स्थानीयले असन्तुष्ट व्यक्त गरेका छन्।

खानेपानीको अभावले बजार क्षेत्रमा होटल व्यवसाय गरेर बसेका नागरिक प्रत्यक्ष मारमा परेका छन्। पानी वितरणमा एकरुपता नभएपछि खानेपानीको अभाव भएको स्थानीय धन बटालाले बताए।

उनले जनप्रतिनिधिहरूले नागरिकको समस्यामा ध्यान नपुर्‍याएको भन्दै आक्रोश व्यक्त गरे।

‘खानेपानीमा पनि पहुँचवालाको हालिमुहाली छ, सर्वसाधारणका धारामा पानी आउँदैन तर पहुँचवालाका धारामा भने चौबिसै घण्टा पानी आइरहेको हुन्छ,’ बटालाले भने, ‘अहिलेसम्म सदरमुकाममा खानेपानीको अभाव हुँदा कसैको ध्यान गएको छैन।’

अहिले खाँडाचक्र नगरपालिका-१ स्थित बजारमा पिउने पानी अभाव भएको समयमा पहुँचवालाले खानेपानीको ट्यांकीबाट सीधै पाइप जडान गरेर घरघरमा लगेका छन्। सर्वसाधारणको धारामा हप्तौँसम्म पनि पानी आएको छैन।

खानेपानीले सबै उपभोक्तालाई एकैनासको धारा दिनुपर्नेमा माग गर्दै स्थानीयले विरोध जनाएका छन्। खानेपानी कार्यालयले ट्यांकीबाटै सीधै लाइन तानेर पहुँचवालाको घरघरमा धारा पुर्‍याएको स्थानीयवासीको गुनासो छ।

‘घरमा पानी आउन छाड्यो, धारानजिक छैन, १ घण्टा हिँडेर पानी ल्याउन जानुपर्छ। त्यहाँ पनि भीड उत्तिकै हुन्छ, पालो नकुरी पानी पाइँदैन,’ खाडाचक्र नगरपालिकामा होटल व्यवसाय गर्दै आएका चक्र बमले गुनासो गरे।

प्रकाशित: ११ मंसिर २०७९ १७:५४ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast