३३औँ वर्षमा नागरिक लगानी कोष

हिमाल प्रेस ४ चैत २०७९ १६:०६ | Saturday, March 18, 2023
३३औँ वर्षमा नागरिक लगानी कोष

काठमाडौँ- नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ। बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको कोषले शनिबार ३३औँ वर्ष प्रवेशको अवसरमा वार्षिकोत्सव मनाएको छ।

कोषको स्थापना विभिन्न कार्यक्रम सञ्चालन गरी पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा गरिएको थियो। कोषले हालसम्म विभिन्न क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको जानकारी गराएको छ।

कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई खर्ब पाँच अर्ब ६९ करोड रुपैयाँ लगानी गरिएको छ। सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम दुई खर्ब छ अर्ब १९ करोड रुपैयाँ रहेको कोषले जानकारी दिएको छ।

केषले हाल मुद्दती निक्षेपमा एक खर्ब छ अर्ब २६ करोड रुपैयाँ, धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ। त्यस्तै कोषमा सहभागीलाई सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख रुपैयाँ र समकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० लाख रुपैयाँ लगानी गरेको कोषले जानकारी दिएको छ। पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी समान आठ अर्ब रुपैयाँ रहेको कोषको चुक्ता पूँजी चार अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ।

नागरिक लगानी कोषमा सरकारको २३.३४ प्रतिशत सेयर छ। त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१.५५ प्रतिशत, नेपाल स्टक एक्सचेञ्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५.११ र सर्वसाधारणको २० प्रतिशत सेयर रहेको छ।

लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीलगायतका कार्यक्रम कोषले सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ४ चैत २०७९ १६:०६ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast