निर्वाचित भएसँगै फिल्डमा खटिए रवि

हिमाल प्रेस ११ मंसिर २०७९ १०:१९
20
SHARES
निर्वाचित भएसँगै फिल्डमा खटिए रवि चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने मलको अवस्था बुझ्न नारायणगढस्थित साल्ट ट्रेडिङमा । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरबाट प्रमाणपत्र ग्रहण गरेसँगै लामिछाने जनताको समस्या बुझ्न निस्किएका हुन्। तस्बिरः कृष्ण आचार्य, रासस

चितवन- भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुन सकेको छैन। यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयवासीले हैरानी खेप्दै आइरहेका छन्।

तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएपछि स्थानीय आजित थिए। आफूलाई विश्वास गरेर भारी मत दिएर जिताएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष , चितवन क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद रवि लामिछाने शनिबार सडकको समस्या समाधान गर्न ‘फिल्ड’मै गए।

सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी संघ चितवनका अध्यक्षलाई बोलाएर नवनिर्वाचित सांसदले बाटो निर्माणको सार्वजनिक प्रतिबद्धता गर्न लगाए। ‘यहाँका जनताको धेरै गुनासो सडकको बारेमै छ, आज त्यही भएर ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई यहीँ ल्याएर समस्या समाधान गराउने प्रयास गरेको छु,’ उनले भने।

उनले स्थानीय जनताले आफूलाई भोट दिएर जिताएपछि जनताको समस्या समाधान गर्न आजैदेखि अघि सरेको बताए। ‘तपाईँहरू मलाई आस गरेर जिताएर पठाएको मान्छे हुँ, त्यसकारण अब तपाईंहरू सबैजना लड्ने होइन जिम्मा लिन म आएको छु,’ उनले भने, ‘तपाईँहरूका लागि अब म लड्ने हो तपाईंहरूले मलाई भोट हालिसक्नुभा’छ।’

उनले जितपश्चात अब बधाई खाने समय नभएको भन्दै अब काम गर्ने बेला आएको बताए। त्यहीअनुसार औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले जनताको काममा लागिपरेको उनको भनाइ छ। ‘मैले यसरी उभिएर बाटो बनाउने कामलाई झकझक्याउँदै गर्दा कसैले मिडियाबाजी, स्टन्ड गर्‍यो भने भन्लान्, त्यो मतलब भएन तर यहाँको बाटो बन्नुपर्‍यो, स्थानीयवासी ढुक्कले बस्न पाउनुपर्‍यो,’ उनले भने, ‘मलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउनुहोला, म तपाईंहरूको काममा अघि बढ्छु, मलाई साथ दिनुहोला।’

अध्यक्ष लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इञ्जीनियर रञ्जन ठाकुरलाई काम गराउने प्रतिबद्धता गराए।

ठेकेदार कम्पनीका व्यवस्थापक थपलियाले भने, ‘विभिन्न समस्याले सडक निर्माणमा ढिलाइ भएको हो, अब हामी ढिला नगरी भोलिबाटै काम अगाडि बढाउँछौँ।’

उनले आइतबारदेखि निर्माण सामग्री ल्याउन सुरु गर्ने र पिच निर्माणको काम तत्काल अघि बढाइहाल्ने बताए। ‘यो मंसिरभित्र सबै काम सकिन्छ, निर्वाचनलगायतका विभिन्न कारणले ढिलाइ भएको हो, अब हुँदैन,’ उनले भने।

यस्तै इञ्जीनियर ठाकुरले प्राविधिक कारणले सडक निर्माणको काम ढिलाइ भएको बताए। विद्युतको पोल समयमै नसार्नु, ढल निर्माणको कामपछि मात्रै समावेश हुनुले कामलाई असर परेको बताए। अब सबै काम सकिएकाले निर्माण काम नरोकिने प्रतिबद्धता जनाए।

स्थानीय यमलाल कँडेलले यस्ता प्रतिबद्धता धेरै गरेको भए पनि बाटो नबनेको बताए । उनले भने, ‘अहिले फेरि प्रतिबद्धता जनाउनुभयो अबचाहिँ काम होस्।’

करिब ३ हजार १ सय मिटर उक्त सडकखण्डमा २ हजार ६ सय मिटर कालोपत्र निर्माण सकिएको निर्माण कम्पनीले जनाएको छ। अब धर्मचोक क्षेत्रका पाँच सय मिटर सडक पक्की गर्न मात्र बाँकी भएकाले छिट्टै काम सकिने कम्पनीको भनाइ छ।

सो क्रममा निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनका कुनै पनि अधुरा निर्माणका काम तत्काल सक्ने गरी काम अघि बढेको बताए।

यस्तै शनिबार नै लामिछाने मलको अवस्था बुझ्न नारायणगढस्थित साल्ट ट्रेडिङ पुगेका थिए।

प्रकाशित: ११ मंसिर २०७९ १०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast