रैथाने बाली खरिदबिक्री गर्न खाद्य व्यवस्था कम्पनी र दुई गाउँपालिकाबीच सम्झौता

हिमाल प्रेस ३० फागुन २०७९ २२:०७ | Tuesday, March 14, 2023
रैथाने बाली खरिदबिक्री गर्न खाद्य व्यवस्था कम्पनी र दुई गाउँपालिकाबीच सम्झौता

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी र हुम्लाका दुई गाउँपालिकाबीच सम्झौता गरिएको छ। सम्झौताअनुसार कम्पनीले हुम्लाका ती गाउँपालिकाका रैथाने बाली खरिद गरी बिक्रीवितरण गर्ने छ।

स्थानीय तहमा उत्पादकत्व तथा क्रयशक्तिमा वृद्धि र खाद्य सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले हुम्लाको सिमिकोट र अदानचुली गाउँपालिकासँग सम्झौता गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।

कम्पनीले हुम्लामा उत्पादित फापर, सिमी, चिनु, कागुनोलगायतका अर्गानिक खाद्यान्न बाली बजारीकरण गर्दै आएको पनि उनले बताइन्। प्रमुख जिल्ला अधिकारी, स्थानीय प्रतिनिधि, कृषि कार्यालय, उद्योग वाणिज्य संघ र गाउँपालिकाले मूल्य निर्धारण गरेपछि कम्पनीले बाली खरिद तथा बिक्री गर्नेछ।

हुम्लाका उक्त गाउँपालिकाहरूमा उत्पादित खाद्यान्न बालीको बजारीकरणमा समस्या भएपछि कम्पनीले स्थानीय तहसँग सम्झौता गरी काम सुरु गरेको हो। सूचना अधिकारी न्यौपानेले अन्य स्थानीय तहसँग पनि यसैगरी सम्झौता गरिने बताइन्।

उत्पादक किसानको हित संरक्षण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४÷७५ मा कर्णालीका पाँच जिल्लाबाट सिमी, फापर, उवा खरिद गरिएको थियो।

सम्झौताअनुसार सिमिकोट गाउँपालिकाबाट १३ क्विन्टल सिमी, १९ क्विन्टल फापर, ११ क्विन्टल चिनु र ८० केजी कागुनो खरिद गरी बिक्री गरिएको थियो।

विगतमा स्थानीय तहमा उत्पादित चामल र दाल मात्रै बिक्रीवितरण गर्ने कम्पनीले पछिल्लो समय अन्य बालीको बजारीकरण सुरु गरिएको जानकारी दिएको छ। रासस

प्रकाशित: ३० फागुन २०७९ २२:०७ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast