कास्की कारागार मर्मतका लागि गण्डकीले २० लाख दिने

हिमाल प्रेस ३० फागुन २०७९ १२:४८ | Tuesday, March 14, 2023
कास्की कारागार मर्मतका लागि गण्डकीले २० लाख दिने

पोखरा- कास्की कारागार मर्मत सम्भारका लागि २० लाख रुपैयाँ विनियोजित भएको छ। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले कारागार निरीक्षण र कैदीबन्दीको अवस्था बुझ्नेक्रममा कारागाराको भौतिक संरचना मर्मत सम्भारमा २० लाख विनियोजन भएको बताएका हुन्।

मन्त्री गाहाले सो बजेट बाहेक खेलकूदका समाग्री तथा लाइब्रेरीका लागि पुस्तक तथा ट्रिपाल उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनले सरकारले उपलब्ध गाराउनुपर्ने सबै सामाग्रीमा कमी हुन नदिने बताउँदै आगामी दिनमासमेत सहयोगका लागि तत्पर रहेको जनाए।

मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले कारागारका लागि सो बजेट पर्याप्त नभए पनि आगामी दिनमा पनि थप सघाउन गर्ने बताए। उनले आगामी आर्थिक वर्षको बजेटमा छुट्टै व्यवस्था गर्न कारागार तथा कैदीबन्दीको समस्याहरु लिखित रुपमा उपलब्ध गराउन जेलरसँग आग्रह गरे।

कास्की कारागार प्रमुख भीमराज कोइरालाले आवश्यक कच्चा पदार्थमात्रै उपलब्ध भएको खण्डमा भौतिक पूर्वाधार निर्माणका लागि कैदीबन्दी नै सक्षम रहेको सुनाए। उनले कारागारको आन्तरिक व्यवस्थापनमा कैदीबन्दीहरुले नै मिलाएको बताए।

‘यहाँभित्र छुट्टै टिम छ। आन्तरिक रूपमा व्यवस्थित बनाउनका लागि समस्या छैन। तर पूर्वाधार निर्माणका लागि भने सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने। कैदीबन्दीहरूले कारागारको क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले बस्न समस्या भएको गुनासो गरेका थिए।

निरीक्षणमा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ, कास्कीका प्रजिअ टेकबहादुर क्षेत्री, कास्की प्रहरी प्रमुख अजय केसी लगायत उपस्थित थिए।
कारागारमा ४५ महिला, ६ आश्रित नाबालिग र ६ सय ९४ पुरुष गरी कुल ७ सय ४५ कैदीबन्दी छन् । कारागारमा महिला र पुरुष कैदीबन्दी गरी ३ ब्लक छन्।

प्रकाशित: ३० फागुन २०७९ १२:४८ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast