अन्ततः माओवादी धारमै फर्किए प्रभु साह

हिमाल प्रेस २७ फागुन २०७९ ९:५७ | Saturday, March 11, 2023
अन्ततः माओवादी धारमै फर्किए प्रभु साह आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- अन्ततः आम जनता पार्टीका अध्यक्ष प्रभु साह माओवादी धारमै समेटिएका छन्। उनी लामो समय माओवादीबाट राजनीति गरेर बाहिरिए पनि पछिल्लो समय माओवादी धारमै आइपुगेका हुन्। साह हाल आम जनता पार्टी खोलेर त्यसको अध्यक्ष छन्। माओवादी धारका नौ दलमा समेत साह समेत समेटिएका हुन्। तत्कालीन नेकपा विभाजित बन्दा साहले एमाले प्रवेश गरेका थिए।

तत्कालीन माओवादी जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउनुपर्ने साहले बताए ।
उनले गएको प्रतिनिधिसभा निर्वाचनमा एमालेको टिकट छाडेर स्वतन्त्ररूपमा उम्मेदवारी दिएका थिए। स्वतन्त्रबाटै उठे पनि साहले रुपन्देही ३ बाट जित हासिल गरे। त्यसलगत्तै उनले नयाँ पार्टी खोलेका थिए। माओवादी केन्द्र निकट स्रोतका अनुसार साह केही समयपछि नै माओवादी केन्द्रमै फर्किदैछन्।

उनलाई उचित स्थान दिएर पार्टीमै फर्काउने तयारी छ। उनी यही कारण आज (शनिबार)को सत्ता गठबन्धनको बैठकमा पनि सहभागी छन्। उनी माओवादी धारका नेताहरूको बैठकमा भने अहिले सम्म देखिएका छैनन्। तर व्यक्तिगत व्यस्तताले नदेखिए बताउने गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई द्वन्द्वकालीन मुद्दामा रिट दायर गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै माओवादी धारका पार्टीहरू संयुक्त बैठक बसिरहेका छन्।

माओवादी केन्द्रसहित, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी माओवादी धारमा पर्छन्। यस्तै विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी, गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी नेपाल पनि माओवादी धारमै छन्। माओवादी धारमा रहेका रामबहादुर थापा ‘बादल’ समूह मात्र अहिले समेटिएको छैन। उनीहरू माओवादी छाडेर एमाले बनेका कारण बैठकमा नबोलाइएको माओवादी केन्द्र स्रोतको भनाइ छ।

प्रकाशित: २७ फागुन २०७९ ९:५७ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast