काठमाडौँ- कुनै चिज दुई पटक भए त्यसलाई संयोग मान्न सकिन्छ। तर तीन पटक भए त्यो प्रवृत्ति हाे। विश्वकपमा इंग्ल्यान्ड र अमेरिका भिडेको तीन पटक भयो। तर तीनै पटक इंग्ल्यान्ड विजयी हुन सकेको छैन। शुक्रबार राति पनि इंग्ल्यान्ड बराबरीमा रोकियो। विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा इंग्ल्यान्डलाई रोक्नु अब अमेरिकाका लागि प्रवृत्ति बनेको छ।
यी दुई पहिलो पटक सन् १९५० मा भिडेका थिए। के भनिन्छ भने त्यसबेलाको अमेरिकी टिममा व्यवसायिक खेलाडी थिएनन्। बरु गाडी चालक, हुलाकी, होटल मजदुर आदिलाई समेटेर टिम बनाइएको थियो। त्यही सामान्य टिमले इंग्ल्यान्डलाई १–० स्तब्ध बनायो। अझ पनि यो नतिजालाई विश्वकप इतिहासकै अकल्पनीय नतिजाको सूचीमा राखिएको छ।
६० वर्षपछि इंग्ल्यान्ड र अमेरिकाबीच फेरि एकपटक विश्वकपमा भेट भयो। दक्षिणी अफ्रिकी भूमिमा भएको खेलमा स्टिभन जेरार्डले सुरुमै गोल गरेका थिए। तर पछि गोलरक्षक रब ग्रिनको गल्तीका कारण अमेरिकाले गोल फर्कायो।
ग्रेग बेरहाल्टर नेतृत्वको अमेरिकी टिमले अल बेट रंगशालामा भने गोल गरेन। न त इंग्ल्यान्डलाई गोल गर्न दियो। यो नतिजाले अमेरिकाको नकाउट चरणमा पुग्ने सम्भावनालाई जीवित बनाएको छ। पहिलो खेलमा वेल्ससँग बराबरीमा रोकिएको अमेरिकाका लागि इरानसँगको खेल निर्णायक हुनेछ। शुक्रबार नै वेल्सलाई पाजित गरेको इरान तीन अंकसहित दोस्रो स्थानमा छ। चार अंक बटुलेको इंग्ल्यान्ड पहिलो स्थानमा छ।
अचम्म नै मान्नु पर्छ, अमेरिकाले इंग्ल्यान्डविरुद्ध विश्वकपको जस्तो लय अरुबेला देखाउन सकेको छैन। यी दुई टिम गैरविश्वकप खेलमा नौ पटक आमनेसामने भएका छन्। तीमध्ये आठ खेल इंग्ल्यान्डले जितेको छ। मैत्रीपूर्ण खेलमा निरीह हुने अमेरिका विश्वकपमा भने एकाएक जाग्ने गरेको छ।
‘बराबरी हाम्रा लागि खराब नतिजा होइन। बरु हामी त उत्साहित भएका छौँ। हामीले राम्रो खेलेर नै इंग्ल्यान्डलाई रोकेको हो। गोल गर्न सकेनौँ, त्यसमा चाहिँ दुःख लागेको छ,’ इंग्ल्यान्डसँगको खेलपछि अमेरिकी मिडफिल्डर वेस्ट म्याकेन्नीले भने।
आठ वर्षपछि विश्वकपमा फर्किएको अमेरिकाले छनोटमा राम्रो प्रदर्शन गर्न सकेको थिएन। उत्तर तथा मध्य अमेरिकी छनोटमा तेस्रो भएको अमेरिकाले आफूभन्दा कमजोर टिमसँग मजबुत प्रदर्शन गरे पनि बलिया टिमसँग सजिलै हार मान्ने बानी विकास गरेको थियो। पछिल्लो एक वर्षमा अमेरिकाले विश्वकपमा छनोट भएका सात टिमसँग खेल्यो। तीमध्ये ६ टिमविरुद्ध उसले गोल गर्न सकेन।
तर कतारमा भने अमेरिकी खेलाडीको प्रदर्शन तारिफयोग्य छ। इंग्ल्यान्डविरुद्ध सुरुको १५ मिनेट कमजोर देखिए पनि बाँकी समय भने अमेरिकाले खुलेर खेल्यो। म्याकेन्नी, यनुस मुुसा, क्रिस्टियन पुलिसिक, टायलर एडम्स जस्ता खेलाडीले इंग्लिस रक्षापंक्तिलाई दुःख दिइरहे।
वेल्ससँगको खेलमा पहिलो एघारमा परेका सबै खेलाडीका लागि यो पहिलो विश्वकप हो। त्यसपछि मैदान प्रवेश गरेका तीन खेलाडीले पनि यसअघि विश्वकप खेलेका थिएनन्। त्यस खेलबाट विश्वकप यात्रा सुरु गरेका अमेरिकी खेलाडीले विस्तारै आत्मविश्वास बटुल्दैछन्।
प्रशिक्षक बेरहाल्टर अमेरिकी फुटबललाई विश्वले हेर्ने नजरमा परिवर्तन ल्याउनु पर्ने विचार राख्छन्। इंग्ल्यान्डसँगको बराबरी बेरहाल्टरको अभियानको हिस्सा हो। यो नतिजाले समस्त अमेरिकी नागरिकको आफ्नो टिमप्रतिको धारणा परिवर्तन भएको हुनुपर्छ। किनभने चार वर्षअघिको विश्वकपमा छनोट नभएपछि अमेरिकी फुटबलको स्तरमाथि प्रश्न उठिरहेको थियो।
हालको अमेरिकी टिम युवा खेलाडीले भरिएको छ। तीमध्ये केही खेलाडी प्रिमियर लिग र बुन्डेसलिगा जस्ता ठूला लिग खेल्छन्। फरक समुदाय र पृष्ठभूमिबाट आएका खेलाडी समेटेर यो टिम निर्माणगरिएको छ। यसकारण खेलाडीमा एकअर्काप्रति सद्भाव र सम्मान छ। यिनको काँधमा अमेरिकाको खेलकुद संस्कृति परिवर्तन गर्ने जिम्मा पनि छ।
यद्यपि यसमा उनीहरू सफल हुन्छन् व हुँदैनन्, हेर्न बाँकी छ। तर युरो उपविजेतालाई रोकेर उनीहरूले सुरुवात चाहिँ बलियो गरेका छन्। इरान जस्तो बलियो एसियाली टिमलाई ६ गोल गरेको इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेर अमेरिकी युवा खेलाडीले आफूहरू जोसुकैसँग भिड्न तयार रहेको सन्देश दिएका छन्।
‘हामीले यो विश्वकपमा राम्रो खेल्दा अमेरिकामा फुटबलप्रतिको धारण बलियो बन्दै जान्छ। अमेरिकी फुटबल र यो टिममा अमेरिकी नागरिकको ध्यान आकृष्ट होस् भन्ने हाम्रो चाहना हो। र यस्तो नतिजाले अमेरिकीलाई पक्कै गर्व महसुुस गराउँछ,’ प्रशिक्षक बेरहाल्टरले भने।
Your website being unresponsive in mobile version of side scrolling inside page.