
काठमाडौँ- अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गरी जेल हाल्ने मागसहित मुद्दा दर्ता भएकोमा भर्त्सना गरेको छ।
महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले विज्ञप्ति जारी गर्दै जनयुद्धसँग सम्बन्धित मुद्दा संक्रमणकालीन न्यायसम्बन्धी विषय भएकाले तिनको निरुपण सत्य तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट हुनुपर्ने प्रस्ट पारेका छन् ।
तर यसको विपरीत प्रधानमन्त्री प्रचण्डविरुद्ध जनयुद्धकालीन घटना र सोही सम्बन्धमा दिएका अभिव्यक्तिलाई आधार बनाएर मुद्दा दर्ता गरिनु विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र नेपालको संविधान विरुद्ध रहेको सो विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको संविधान र कानुनको व्याख्याताका रुपमा रहेको सम्मानित सर्वोच्च अदालतले देशमा पुनः द्वन्द्व सिर्जना हुने, महान् जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरु, पीडापूर्ण जीवन बाँचिरहेका घाइते तथा अपांग योद्धाहरु, सहिद तथा बेपत्ताजनका परिवारहरुमाथि अपमान र अन्याय हुने एवं शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अवरोध सिर्जना हुने कुनै पनि कार्य गर्ने छैन भन्ने कुरामा हाम्रो दृढ विश्वास रहेको छ।’