काठमाडौँ- नेपालको अध्यागमन विभागले अमेरिकी नागरिककै हैसियतमा रवि लामिछाने बनाएको नेपाली राहदानी प्रयोग नगरेको बताएको छ। लामिछानेले अमेरिकी राहदानी हुँदा हुँदै नेपालमा पनि राहदानी लिएका थिए। तर उक्त राहदानी लामिछानेले प्रयोग नै नगरेको अध्यागमन विभागको भनाइ छ।
अध्यागमन विभागका तत्कालीन महानिर्देशक ऋषिराम तिवारीले लामिछानेले नेपाली राहदानी प्रयोग नगरेको जानकारी सरकारी वकिलको कार्यालयलाई दिएका थिए।
विभागको महानिर्देशकमा अहिले झलकराम अधिकारी छन्। अधिकारीले यसअघि नै विभागले यसबारे अध्ययन गरेर जानकारी पठाइसकेको बताए। उनले हिमालप्रेससँग कुरा गर्दै भने, ‘म आउनुअघि नै रवि लामिछानेले नेपालको राहदानी प्रयोग नगरेको जानकारी यहाँबाट गइसकेको रहेछ। त्यसकारण थप अध्ययन गरिरहनु पर्ने देखिएन।’
लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै उनको पद खारेजको माग राखेर सर्वोच्चमा रिट परेको थियो। उक्त रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै उनको नागरिकता र सांसद पद खारेज गरिदियो। रविले नागरिकता पुन:प्राप्तिको प्रक्रिया पुरा गरेर नागरिकता पनि लिइसकेका छन्।
उनको मुद्दाबारे सर्वोच्चले फैसलाको पूर्णपाठ पनि मंगलबार सार्वजनिक गरेको छ। उक्त पूर्णपाठमा सर्वोच्चले नागरिकताबाहेकका विषयमा थप व्याख्या गरिरहन नपर्ने भनेको छ।
‘…प्रस्तुत रिट निवेदनको मूल विषय नागरिकता सम्बन्धी भई सो विषयको निरूपण भएको र अन्य विषयमा सम्बन्धित अधिकारीहरूबाट निर्णय भएको अवस्था नहुँदा रिट निवेदनमा उपरोक्त अनुसार उठाइएको अन्य विषय वा प्रश्नहरू सम्बन्धमा अहिले थप उल्लेख वा विवेचना गरिरहन परेन’ सर्वोच्चको पूर्णपाठमा भनिएको छ।
यस्तो छ रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चको आदेश (पूर्णपाठ)