जसपाले अन्तर्घात गर्ने ८० जनालाई कारबाही गर्ने

हिमाल प्रेस २२ फागुन २०७९ ७:२०
जसपाले अन्तर्घात गर्ने ८० जनालाई कारबाही गर्ने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ।

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको प्रतिवेदनमा ८० जनालाई कारबाही गर्न सिफारिस गरिएको हो।

कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको थियो । कार्यदलले १५२ आरोपीसँग बयान लिनाका साथै अन्य प्रमाण र थप जानकारीका लागि २४७ जनासँगभेटेर कुराकानी गरेको थियो। कारबाही सिफारिस गरिएका ८० जना नेताले आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ।

कोशी प्रदेशको पाँचथर, सुनसरी र मोरङ, मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको मकवानपुर, धादिङ, काभ्रे, लुम्बिनी प्रदेशको बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा गएर कार्यदलले छानबिन गरेको थियो। प्रतिवेदन बुझ्दै जसपा अध्यक्ष यादवले पार्टीको अगामी बैठकमा प्रतिवेदनमाथि छलफल हुने र कार्यदलले सिफारिस गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्ने बताएको कार्यदलका संयोजक थापाले जानकारी दिए।

यसअघि २०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा छानबिन गर्न कार्यदल गठन भएको थियो। तर त्यो कार्यदलले बुझाएको प्रतिवेदन भने कार्यान्वयनमा आएको थिएन।

२०७४ सालको चुनावमा भएको छानबिनमा कार्यदलले ३९ जना नेतालाई कारबाही गर्ने तथा आठ जनालाई पार्टीबाट निष्कासन र ३१ जनालाई निलम्बनका लागि सिफारिस गरेको थियो।

प्रकाशित: २२ फागुन २०७९ ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =