 नारायणगढ-मुग्लिन सडक। फाइल तस्बिर।
                             नारायणगढ-मुग्लिन सडक। फाइल तस्बिर।
                                            चितवन– नारायणगढ-मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ। भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो।
पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।
नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँचठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ।
तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम शनिबारदेखि बन्द गर्न लागिएको हो।
तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो। सो डाँडोलाई काट्न कठिन भएको हो। सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ।
यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ। सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ। यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन्।
यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए। पाँचवटा पुल निर्माणाधीन छन्। सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो। पहिलेको पुलको छेउमा अर्को पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो।
आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि बिस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ। अनुमति पाएसँगै १ महिनामा बिस्फोटक पदार्थ झिकाएर बिस्फोट गराउने तयारी आयोजनाले गरेको उनले जानकारी दिए।
विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो। एउटा पुलको काम सुरु भएको छैन। पुलको छेउमा सुकुम्वासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो।
विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ। आयोजनाका प्रमुख किरण कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु एक करोड हाराहारी खर्च हुन्छ।
रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरु गर्न नसकिएको हो।
०८० साल पुस ९ मा पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति रहे पनि सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको हो।
सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ। पुल निर्माणका लागि १ अर्ब २२ करोड रुपैयाँ खर्च हुने छ।
सो सडकमा यसअघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक ९ देखि ११ मिटर फराकिलो रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आउ-जाउ गर्छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 