जलविद्युत आयोजनामा तोडफोड, १२ करोड रुपैयाँ बराबरको क्षति

स्वतन्त्र उर्जा उत्पादकद्वारा जलविद्युत आयोजना सुरक्षाको माग

हिमाल प्रेस १७ फागुन २०७९ १८:०६
6
SHARES
जलविद्युत आयोजनामा तोडफोड, १२ करोड रुपैयाँ बराबरको क्षति

काठमाडौँ- स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजना सुरक्षाको माग गरेको छ। इप्पानले जलविद्युत् आयोजना निर्माणस्थलमा तोडफोड र आगजनीका घटना बढेको भन्दै सुरक्षाको माग गरेको हो।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन सीता हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण स्थलमा फागुन १५ गते तोडफोड र आगजनी गरिएको थियो। सोही बारेमा जानकारी गराउन इप्पानले बुधबार पत्रकार सम्मेलन गरेको हो।

फागुन १५ गते स्थानीय एक समूहले सीता हाइड्रोपावर आयोजनामा आगजनी तथा तोडफोडका साथै कर्मचारीमाथि आक्रमण पनि गरेको सो क्रममा जानकारी गरइएको हो। उक्त घटनाप्रति भत्र्सना गर्दै इप्पानले जलविद्युत् आयोजनाको सुरक्षा गरिदिन सरकारसँग माग गरेको हो।

जलविद्युत आयोजनामा स्थानीयको समूहले उछृंखल, अराजक र अपराधिक घटना निन्दनीय रहेको बताउँदै इप्पानले आयोजनास्थल र आयोजनास्थलमा हुने कर्मचारीको सुरक्षाको माग गरेको हो। इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षति भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे। साथै घाइते कर्मचारीहरूको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था मिलनउ पनि सरकारसँग अनुरोध गरे।

उनले पछिल्लो समय जलविद्युत् आयोजनाहरूमा धेरै अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए। जलविद्युत् आयोजनामा भएको घटनाले मुलुकभरीकै जलविद्युत् उत्पादन क्षेत्रमा निजीक्षेत्र निरुत्साहित भएको उनको भनाइ थियो।

उक्त किसिमका घटना दोहोरिन नदिन सरकारले जलविद्युत् आयोजनाकै लागि छुट्टै सुरक्षा संयन्त्र बनाउनुपर्ने उनको भनाइ थियो। सिन्धुपाल्चोकमा भएको घटनाको विषयमा छानविन गरी कारवाही गर्न समेत इप्पानले माग गरेको छ।

त्यस्तै सीता जलविद्युत आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट गराउन सरकारसँग माग गरे। फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत् प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानी एक बालिकाको निधन भएको थियो। त्यसपछि ६० जनाको एक समूहले योजनाबद्ध रूपमा आयोजनास्थलमा तोडफोड, आगजनी र कर्मचारीमाथि आक्रमण गरिएको उनको भनाइ थियो।

सो घटनाबाट आयोजनाको आवासीय भवन, विद्युत् गृह, सुरुङलगायत क्षेत्रमा ठूलो क्षति र ७ जना इन्जिनियरहरू घाइते भएको उनले जानकारी दिए। आयोजनामा भएको आक्रमणबाट करिब १२ करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए।

प्रकाशित: १७ फागुन २०७९ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =