काठमाडौँ- प्रदेश १ को नाम प्रदेशसभा सचिवालयमा दर्ताका लागि बिहान १० बजेदेखि १२ बजेसम्मका लागि दिएको समयमा कसैले पनि प्रस्ताव नगरेपछि एक घन्टा समय थप गरिएको छ। निर्धारित समयमा कसैले नामाकरण नगरेपछि समय थप गरिएको हो।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्ममा नामकरणसम्बन्धी आफ्नो प्रस्ताव पेस गर्न आह्वान गरेका थिए।
सभामुखको आदेशअनुसार सचिव पराजुलीले प्रकाशित गरेको सूचनामा प्रदेशसभा नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची-९ को ढाँचामा प्रस्ताव पेस गर्न भनिएको छ।
प्रदेशसभा सचिवालयले प्रदेश नामकरण प्रस्ताव पेस भइ निर्णय हुने गरी आजको प्रदेशसभा बैठकको कार्यसूची उल्लेख गरेको छ।