बाघको जस्तो देखिने आखेटोपहारसहित डडेलधुराबाट दुई जना पक्राउ

हिमाल प्रेस १४ फागुन २०७९ १३:१२ | Sunday, February 26, 2023
बाघको जस्तो देखिने आखेटोपहारसहित डडेलधुराबाट दुई जना पक्राउ

धनगढी- डडेलधुरामा बाघको जस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेलधुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्युरोको संयुक्त टोलीले दुई युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका-१० घर भई बडिमालिका नगरपालिका-८ मार्तडीस्थित बीसीडी वर्कसपका सञ्चालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै खप्तडछेडेदह गाउँपालिका-७ घर भई मार्तडीकै सितल मदिरा स्टोरका सञ्चालक २७ वर्षीय वीरबहादुर ओली रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नाय‍व उपरीक्षक मनोहर भट्टका अनुसार दुवैजनालाई शनिबार राति साढे बजे १२ अमरगढी नगरपालिका-५ बागबजारबाट पक्राउ गरिएको हो। पक्राउ परेका जैसी र ओलीलाई आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ।

‘संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपोसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेषा सूचनाको आधारमा हामीले पक्राउ गरेका हौं,’ डीएसपी भट्टले भने, ‘झोला जाँच गर्दा त्यसमा रहेका संरक्षित वन्यजन्तुको आखेटोपहारको जस्तो देखिने वस्तु फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लियौँ।’

उनीहरूको झोलाबाट टाउकोजस्तो देखिने अस्थिपञ्जर हड्डी, चारवटा दाँतहरू देखिएको हड्डी एक थान, तल्लो बंगराको जस्तो देखिने हड्डी दुई थान, मेरुदण्डको जस्तो देखिने हड्डी २९ थान, करङको जस्तो हड्डी २२ थान, फीलपातको जस्तो देखिने हड्डी ५ थान, नलि हड्डी जस्तो देखिने १० थान, विभिन्न प्रकारका स-साना हड्डी २७ गरी जम्मा ९६ थान हड्डी बरामद गरिएको डीएसपी भट्टले बताए। उनका अनुसार ४.०५ किलो हड्डी बरामद गरिएको हो।

बरामद गरिएको बाघको हड्डी अनुसन्धानका लागि डिभिजन वन कार्यालय डडेलधुरालाई जिम्मा लगाइएको डीएसपी भट्टले जानकारी दिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तुको आखेटोपहार खरिदबिक्री गर्ने र ओसारपसार गर्नेलाई ५ लाखदेखि १० लाख रूपैयाँसम्म जरिबाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।

प्रकाशित: १४ फागुन २०७९ १३:१२ | Sunday, February 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast