खर्च नगरी प्रतिद्वन्द्वीहरूलाई भेट्न सकिँदैन : लिभरपुल प्रशिक्षक क्लप

हिमाल प्रेस १३ फागुन २०७९ ९:४३
14
SHARES
खर्च नगरी प्रतिद्वन्द्वीहरूलाई भेट्न सकिँदैन : लिभरपुल प्रशिक्षक क्लप

काठमाडौँ- लिभरपुलका प्रशिक्षक योर्गन क्लपले प्रतिद्वन्द्वी क्लबहरूसँग प्रतिस्पर्धा गर्न आफ्नो क्लबले खर्च बढाउनु पर्ने बताएका छन्। इंग्लिस प्रिमियर लिगका ठूला क्लबहरू खेलाडी बजारमा निरन्तर खर्चालु बनिरहेकाले लिभरपुलले पनि पर्याप्त संख्यामा नयाँ खेलाडी खरिद गर्नुपर्ने क्लपको भनाइ थियो।

यो सिजन प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न नसकिरहेको लिभरपुल केही दिनअघि च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग ५–२ ले पराजित भएको थियो। लिगमा हाल आठौँ स्थानमा रहेको लिभरपुल शनिबार राति क्रिस्टल प्यालेससँग भिड्दैछ। लिगमा गएका दुई खेलमा जित हासिल गर्दै शीर्षचारको आशा नमारेको लिभरपुल प्यालेसको मैदानमा अनिवार्य जितको खोजीमा हुनेछ।

गत सिजन प्रिमियर लिग र च्याम्पियन्स लिगको उपविजेता बनेको लिभरपुल यो सिजन फरक टिम देखिएको छ। म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी र न्युकासल युनाइटेड जस्ता टिमले मन खोलेर खर्च गरिरहेकाले तिनलाई भेट्न आफूहरू पनि खेलाडी बजारमा सक्रिय हुनुपर्ने क्लपको भनाइ थियो।

यो सिजनको अन्त्यमा ‘स्पोर्टिङ निर्देशक’ जुलियान वार्डलाई गुमाउने लिभरपुलले कम्तीमा आधा दर्जन नयाँ खेलाडी अनुबन्ध गर्नुपर्ने बताइँदैछ। तर च्याम्पियन्स लिगमा छनोट नभए आम्दानी घट्ने र त्यसको असर नयाँ खेलाडी खरिदका लागि छुट्याइने बजेटमा पर्ने अनुमान छ।

‘च्याम्पियन्स लिग गुमाउँदा हाम्रो समग्र बजेटमा असर पर्नेछ। पर्याप्त बजेट नभएपछि हाम्रो लक्ष्यमा असर त पर्छ नै। तर जसरी पनि केही नयाँ खेलाडी खरिद गर्नैपर्नेछ,’ क्लपले शुक्रबारको पत्रकार सम्मेलनमा भने।

क्लपले लिभरपुलको शीर्ष चारमा छनोट हुने सम्भावना पूर्णरुपमा नसकिएको पनि बताए। यसका लागि अन्तिमसम्म लड्ने उनको भनाइ थियो। ‘हो, अहिल्यै च्याम्पियन्स लिगमा छनोट हुने बाचा गर्न सकिँदैन। तर हामी यसका लागि लड्न छाड्दैनौँ। मैदानको प्रदर्शनमा म प्रतिबद्ध छु। क्लबको समग्र बजेट व्यवस्थापन कसरी हुन्छ, त्यसमा मेरो संलग्नता हुँदैन,’ क्लपले भने।

लिभरपुलले पूर्वाधारमा पर्याप्त लगानी गरेकाले आफू सन्तुष्ट रहेको क्लपको भनाइ थियो। ‘हामीसँग मज्जाको रंगशालामा छ। अभ्यास गर्ने मैदान पनि गजबको छ। तर यहीबीच अरु क्लबले दु्रत गतिमा खर्च बढाएका छन्। त्यसलाई हामी नजरअन्दाज गर्न सक्दैनौँ,’ क्लपले थपे।

गत साता मात्र लिभरपुलका अध्यक्ष जोन हेन्रीले क्लब बिक्रीमा नरहेको बताएका थिए। तर नयाँ लगानीकर्तालाई भने स्वागत गरिने उनको संकेत थियो। सीमित सेयर बिक्री गरेर क्लबको खर्च गर्ने क्षमता बढाउन लिभरपुलको स्वामित्व लिएको फेनवे स्पोर्ट्स गु्रपको योजना रहेको बताइँदैछ। यस्तोमा नयाँ खेलाडी खरिदका लागि आफूलाई पर्याप्त बजेट उपलब्ध गराइने आशा क्लपले राखेका छन्।

प्रकाशित: १३ फागुन २०७९ ९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast