मालपोत र नापी कार्यालय उद्घाटन, ५ महिनासम्म पनि सुरु भएन सेवा

हिमाल प्रेस ९ फागुन २०७९ १७:३६
2
SHARE
मालपोत र नापी कार्यालय उद्घाटन, ५ महिनासम्म पनि सुरु भएन सेवा

रुकुम- रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना भएको करिब ५ महिना भइसकेको छ। तर, हालसम्म पनि सेवा सुरु हुन सकेको छैन। आठविसकोट नगरपालिका लगायतका सर्वसाधारणलाई सेवा दिने उद्देश्यले नगरपालिकास्थित राडीमा गत असोज ९ गते मालपोत र नापी कार्यालयको उद्घाटन गरिएको थियो।

तर, ती कार्यालयहरूमा उद्घाटन भएकै दिनदेखि बन्द छन्। कार्यालय सञ्चालनका लागि कार्यालय प्रमुख पनि तोकिएको छ। मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी नीलधोज पाण्डे र नापी कार्यालयको प्रमुखको जिम्मेवारी तुलसीराम भुसाललाई दिइएको छ।

प्रमुख तोकिए पनि कार्यालयहरूबाट प्रवाह हुने सेवा सञ्चालनमा आएको छैन। विभागबाट बजेट नआउँदा यी कार्यालयबाट सेवा दिन नसकिएको मालपोत शाखा कार्यालय आठविसकोटका प्रमुख पाण्डेले बताए। ‘विभागमा सोध्दा अर्थ मन्त्रालयबाट बजेट आएको छैन भन्छन्’ प्रमुख पाण्डेले भने। बजेट अभावका कारण कार्यालयमा आवश्यक सामग्री खरिद गर्न नसकिएको उनको गुनासो छ।

आठविसकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि जिल्ला मालपोत कार्यालयले विभागमा पत्र पठाएपछि कार्यालय स्थापना गरिएको थियो। तर अहिले सेवा बन्द रहेको जिल्ला मालपोत कार्यालयका प्रमुख ओमप्रकाश खत्रीले बताए। उनका अनुसार आठविसकोटका नागरिक अहिले पनि सेवा लिनका लागि जिल्लामै आउने गरेका छन्।

आठविसकोटमा कार्यालय स्थापना भए पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता अन्य नभएको वडा नं १० का सुरेन्द्र ओलीले बताए। कार्यालय स्थापना भएपछि नजिकै मालपोत तथा नापीको काम हुने भन्दै खुसी भएका सर्वसाधारण अहिले निराश भएका छन्।

गतवर्ष २०७८ चैत १७ गतेको मन्त्रिस्तरीय बैठकले बाँकेको कोहलपुर, डडेल्धुराको जोगबुढा, महोत्तरीको गौशाला र रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा नापी तथा मालपोत कार्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। रासस

प्रकाशित: ९ फागुन २०७९ १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =