 
                             
                                            काठमाडौँ- कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुंग्याउन माग गरेको छ।
एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अन्य न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेकाले यसलाई चाँडो टुंग्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले बताए।
सरकारले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिलाई विशेषरूपमा लिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष घिमिरेले लामो समयदेखि कायममुकायमको भरमा सर्वोच्च अदालत चलिरहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको बताए।
प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष रहने संवैधानिक व्यवस्था छ।
विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश छन्। भेटमा अध्यक्ष घिमिरेसहित महासचिव अञ्जिता खनाल, बागमती प्रदेश उपाध्यक्ष हर्क रावल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायत सहभागी थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 