सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

हिमाल प्रेस ८ फागुन २०७९ २०:३६ | Monday, February 20, 2023
सेनाले बनाएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण

डोटी– डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ चवराचौतारामा नेपाली सेनाद्वारा निर्माण गरिएको हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

गाउँपालिकासँगको समन्वयमा सिलगढीस्थित भैरव गण डोटीले चालु आर्थिक वर्ष ०७९/०८० मा सीमित कार्यक्रमअन्तर्गत रु पाँच लाख लगानीमा निर्माण गरिएको हेलिप्याडको सोमबार उद्घाटनसँगै गाउँपालिकालाई हस्तान्तरण गरिएको हो।

हेलिप्याडको गाउँपालिकाका अध्यक्ष कमल गडसिला र भैरव गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

विपद्मा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलिप्याड निर्माण गरिएको नेपाली सेना भैरव गण सिलगढीका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताए।

जिल्ला सदरमुकामदेखि टाढा दुर्गम क्षेत्रमा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपत्कालीन अवस्थामा उद्धार गर्न सहज होस् भन्नका लागि हेलिप्याड निर्माण गरिएको प्रमुख सेनानी कार्कीले जानकारी दिए।

मंसिर ८ देखि निर्माण कार्य सुरु गरेको नेपाली सेनाले ४५ दिनमा हेलिप्याड तयार गरेको भैरव गणले जनाएको छ। ग्रामीण क्षेत्रमा हेलिप्याड निर्माण हुँदा प्राकृतिक विपद्को समयमा उद्धारमा सहजता हुने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष गडसिलाले भने।

उनले नेपाली सेनाले निर्माण गरेको हेलिप्याडको गाउँपालिकाले पूर्ण रूपमा संरक्षण गर्ने बताउनुभयो। नेपाली सेनाले बोगटान क्षेत्रमा हेलिप्याड निर्माण गर्दा सैनिक र नागरिकबीचको सम्बन्ध सुधारमा थप टेवा पुग्नुका साथै हेलिप्याड निर्माणबाट गाउँपालिकाका करिब १८ हजार लाभान्वित हुने उनको भनाइ छ।

जिल्ला सदरमुकामदेखि बोगटान क्षेत्रका सबै क्षेत्रमा यातायातको सुविधा पुगेको छैन। पुगेका स्थानसम्म यातायातका साधनका रूपमा महिन्द्रा बोलेरो जिप सीमित संख्यामा मात्र जाने गर्छन्।

बोगटान क्षेत्रमा पुग्न ६ देखि १० घण्टा समय लाग्ने गर्दछ। डोटी जिल्लामा सदरमुकामभन्दा बाहिर बनेको यो पहिलो हेलिप्याड हो।

प्रकाशित: ८ फागुन २०७९ २०:३६ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast