फाइल तस्बिर
                                            काठमाडौँ- सांसदहरूले फागुन १ गते काठमाडौँको नयाँ बसपार्कस्थित व्यापारिक मलमा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्ने सांसदहरूलाई पीडितलाई क्षतिपूर्ति दिन आनाकानी गरेर राज्यले उल्टै पीडकलाई संरक्षण गर्न खोजेको आरोप लगाए।
सांसद विराजभक्त श्रेष्ठले असन्तुष्टि व्यक्त गर्न पाइने भए पनि अराजक हुन नपाइने भएकाले त्यस घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरे। उनले भने, ‘व्यापारीहरू त्यसै त आर्थिक मारमा परेर विस्थापित हुँदै छन्। त्यसमा पनि अमानवीय लुटपाट!। दोषीहरूलाई सीसीटीको फुटेज र अन्य रेकर्डेड माध्यम हेरेर भए पनि कारबाही गर्न माग गर्दछु।’
अर्का सांसद शिशिर खनालले लोत्से मल र कान्तिपुर मलमा सुनियोजित तरिकाले लुटपाट हुँदा करोडौँ क्षति भएको बताए। उनले घटनामा बेलैमा प्रहरी परिचालन नगरेर उदासीनता देखाएको आरोप पनि लगाए। खनालले भने, ‘घटनामा संलग्नलाई राजनीतिक आग्रह नराखी कारबाहीको दायरामा ल्याइयोस्।’
अर्का सांसद शंकर भण्डारीले लुटिएका व्यवसायीलाई सरकारी पक्षले वार्तामा समेत नडाकेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘सरकारले व्यवसायीलाई बोलाएको छैन। निर्दोषलाई कस्टडीमा राख्ने काम भएको भन्ने सुनिएको छ। दोषीमाथि कारबाही गरी पीडितलाई न्याय दिइयोस्।’
सांसद सूर्य थापाले उक्त दिन भएको घटनाबारे सदनमा जानकारी गराउन गृहमन्त्रीको जिम्मेवारीसमेत लिइरहेका प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरे। उनले भने, ‘यस घटनाबारे सदन बेखबर बस्न मिल्दैन।’

                                             
                                             
                                             
                                             
                                             
                                             

