काठमा कला भरेर जीवन धान्‍ने दम्पती

हिमाल प्रेस ३ फागुन २०७९ १२:२०
8
SHARES
काठमा कला भरेर जीवन धान्‍ने दम्पती

कास्की- नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरु भएको हो। नेपाली कलाको इतिहासमा काष्ठकलाको स्थान महत्त्वपूर्ण छ। मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेट्न सकिन्छ।

पछिल्लो समय काष्ठकला हराउँदै जान थालेको छ। कास्कीको पोखरामा एउटा परिवार काष्ठकला उद्योगले नै पालिएको छ।

पोखरा महानगरपालिका–३, अर्चलबोटका चन्द्रमान कपालीको परिवार यसकै भरमा जीविकोपार्जन गर्दै आएको छ। पोखरा–३ तेर्सापट्टीमा चन्द्रमानको लुभिना उड कार्भिङ काष्ठकला उद्योग छ। उनी बिहानदेखि बेलुकासम्म उद्योगमै व्यस्त हुन्छन्।

कपालीकी श्रीमती बिनी श्रेष्ठले पनि फुर्सदको समयमा उनलाई साथ दिन्छिन्। काठलाई कुँदेर आकार दिँदादिँदै श्रीमान् श्रीमतीको दैनिकी बितिरहेको छ।

चन्द्रमानले काठसँग साइनो जोडेको २० वर्षभन्दा बढी भयो। २०६१ मा पोखरा आएर व्यावसयिकरूपमा लागेका कपाली अहिलेसम्म यही पेसामा छन्।

उनले काठको काम सानैदेखि सिकेका हुन्। पुर्ख्यौली थलोमा सबैले काठमा बुट्टा भर्ने काम गर्ने गरेको उनले सम्झिए। ‘ललितपुर बुङ्मतीमा धेरैले काठको काम गर्छन्। मैले पनि बाजुबाजेले गरेको हेरेरै सिकेको हुँ,’ कपालीले भने, ‘२०६१ मा पोखरा आएँ, त्यसपछि मेरो कमाइखाने माध्यम नै यही बनेको छ।’

पोखरामा काम थालेको केही वर्षपछि उनी काठको काम गर्न मुस्ताङ पुगे। मुस्ताङमा केही वर्ष काम गरेर फर्केपछि कपालीले पोखरामा लुनिभा उड कार्भिङ सञ्चालन गरिरहेका छन्। उनलाई तन्नेरी उमेरमा साथीहरू विदेश जाँदा पनि कहिल्यै विदेशिने सोच आएन।

काष्ठकलाको आम्दानीले उनले पोखरामा घर किनिसकेका छन्। श्रीमतीको साथले उद्योग चलाउन सहज भएको उनी बताउँछन्।

उद्योगको कलात्ममक सामान गण्डकी प्रदेशभरसँगै अन्य जिल्लामा पनि पुगेको छ। मागका आधारमा सबैका लागि सबै स्थानमा काठका सामग्री पुर्‍याएको कपालीले सुनाए। उनले बढी मात्रामा झ्यालढोकामा कला परेका छन्। ‘मन्दिर, होटल, पुराना सांस्कृतिक सम्पदा बनाउँदा उपभोक्ता आउँछन् अनि पैसा भएकाले कलात्मक झ्यालढोका प्रयोग गर्छन्।’

कपालीको उद्योगमा झ्यालढोका बाहेक कलात्मक काठका मायाको चिनोलगायत सामग्री पाइन्छन्। कलात्मक काठको मूल्य एक हजारदेखि पाँच लाख रुपैयाँसम्म पर्छ। यही पेसाबाट सबै खर्च कटाएर मासिक ३५ हजारसम्म बचत हुने गरेको उनले बताए।

पछिल्लो समय काठको कलात्मक काम लोप हुँदै गएकामा कपाली चिन्ता व्यक्त गर्छन्। आधुनिक जमानामा मेसिनबाट बुट्टा भर्ने काम हुने भए पनि हातले बनाएको जस्तो राम्रो नहुने कपालीको तर्क छ।

प्रकाशित: ३ फागुन २०७९ १२:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast