चिया निर्यातको अवरोध हटाउन माग

हिमाल प्रेस २ फागुन २०७९ २१:२३ | Tuesday, February 14, 2023
चिया निर्यातको अवरोध हटाउन माग चिया टिप्दै श्रमिकहरू। फाइल तस्बिर

मोरङ– चिया किसाले भारततर्फ हुने चिया निर्यातमा रहेको अवरोध हटाउन माग गरेका छन्। चिया क्षेत्रमा संलग्नले मंगलबार मोरङमा एक कार्यक्रम गर्दै भारततर्फ हुने चिया निर्यातमा अवरोध रहेकाले हटाउन माग गरेका हुन्।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड तथा प्रदेश संवाद समूहद्वारा मंगलबार आयोजित ‘चिया क्षेत्रका समस्या समाधानका लागि प्रदेशस्तरीय संवाद’ कार्यक्रमका वक्ताहरूले संघीय सरकारसँग समन्वय गरी भारततर्फ चिया निर्यातको अवरोध हटाउन तत्काल पहल गर्न माग गरेका हुन्।

वक्ताहरूले प्रदेशमा चियाको गुणस्तरीय परीक्षण गर्ने ल्याब स्थापना गर्न पनि माग गरेका छन्। प्रदेशस्तरीय चिया विकास बोर्ड स्थापनाको पहल गर्नुपर्ने, प्रदेश सरकारले चिया अक्सन बजारको व्यवस्था गर्नुपर्ने तथा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन सरकारी तथा निजी चिया क्षेत्रमा कार्यान्वयन गराउन पहल गर्नु पनि सरोकारवालाको माग छ। प्रदेश चिया उत्पादनमा अग्रणी प्रदेश हो। यहाँबाट भारततर्फ चिया निर्यात हुँदै आएकोमा भारतीय पक्षले विभिन्न बहानामा अवरोध गर्दै आएको छ।

त्यस्तै सरोकारवालाले चियाको प्रवद्र्धन, विकास र विस्तारमा प्राथमिकता दिन प्रदेश नं १ सरकारको ध्यानाकर्षण पनि गराएका छन्। चियाको प्रवद्र्धन, विकास र विस्तार गरी प्रदेश नम्बर १ लाई ‘चिया विशेष क्षेत्र’ घोषणा गर्न चिया क्षेत्रमा संलग्नहरूको माग छ। विदेशी मुद्रा आर्जन गर्ने नगदेबालीका रूपमा रहेको चिया प्रवद्र्धनका लागि सबै निकाय जिम्मेवार हुनुपर्ने चिया किसानहरूको माग छ।

प्रदेश नं १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले चियाको बजारीकरणमा प्रदेश सरकारले प्राथमिकता दिने बताए। देशभर हाल साना तथा ठूला गरी एक सय ६० रहेका छन्। २७ हजार हेक्टर जमिनमा चिया खेती हुँदै आएको छ भने यसमा ७० हजारले रोजगारी पाएका छन्। नेपालबाट वार्षिक ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ।
राससको सहयोगमा

प्रकाशित: २ फागुन २०७९ २१:२३ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast