कर्णालीबाट सांसद नजिते पनि विकास रास्वपाको प्राथमिकतामा रहने रविको प्रतिबद्धता

हिमाल प्रेस १२ मंसिर २०८३ १३:१८ | Saturday, November 28, 2026
6
SHARES
कर्णालीबाट सांसद नजिते पनि विकास रास्वपाको प्राथमिकतामा रहने रविको प्रतिबद्धता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि प्रदेशको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन्।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कर्णालीमा पार्टीको राजनीतिक उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको स्वीकार गरे। तर, विकासलाई चुनावी परिणामसँग जोड्न नहुने उनको भनाइ थियो।

‘तपाईंले हाम्रा उम्मेदवारलाई विजय गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेलसम्म कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहने छ।’

लामिछानेले कर्णालीसँग विकासका नाममा राजनीतिक सौदाबाजी नगर्ने स्पष्ट पारे। उम्मेदवार जिताए मात्रै विकास दिने वा पुल र सडक निर्माणको आश्वासन दिएर मत माग्ने राजनीति आफ्नो पार्टीले नगर्ने उनले बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं, हाम्रा मान्छेलाई जितायौ भने पुल बन्छ, बाटो बन्छ भनेर कर्णालीसँग कुनै सौदाबाजी गर्न आएका होइनौं,’ उनले भने।

कर्णालीका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै लामिछानेले राजनीति चुनावका लागि मात्रै गरिने विषय नभएको बताए।

‘राजनीति चुनावका लागि गर्ने विषय होइन। चुनाव मात्रै राजनीति होइन,’ उनले भने, ‘राजनीतिभित्र चुनाव एउटा निरन्तरको प्रक्रिया हो। चुनाव मात्रै राजनीति हो भन्ने कुरामा रास्वपा विश्वास गर्दैन।’

उनले कर्णालीमा पार्टीको आवाज दूरदराजसम्म पुर्‍याउन नसकेको र अन्य प्रदेशको तुलनामा संसदीय प्रतिनिधित्व कमजोर रहेको पनि स्वीकार गरे।

‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँहरूको जस्तो हुन सकेन। पार्टीका रुपमा उम्मेदवारलाई जिताएर संसद् लैजाने हकमा हामी कर्णालीमा पछाडि पर्‍यौं,’ लामिछानेले भने,‘हाम्रो आवाज कर्णालीको दूर दराजमा पुग्न सकेन। पुर्‍याउन सकेनौं हामीले। र,कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरु प्रदेशको तुलनामा कमजोर हुन गयो।’

प्रकाशित: १२ मंसिर २०८३ १३:१८ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast