तस्बिर स्रोत : जापानी दूतावास
काठमाडौँ- जापान सरकारको दुई अर्ब २७ करोड रुपैयाँ अनुदान सहयोगमा विराटनगरमा सञ्चालित खानेपानी सुधार आयोजना सम्पन्न भएको छ। आयोजनाबाट विराटनगरको दैनिक खानेपानी आपूर्ति क्षमता नौ हजार घनमिटरबाट बढेर १५ हजार घनमिटर पुगेको छ।
नेपालस्थित जापानी दूतावासका अनुसार बिहीबार परियोजना सम्पन्न भएको घोषणा गर्दै समापन समारोह आयोजना गरिएको हो। जापान सरकारको दुई अर्ब ५४ करोड १० लाख जापानी येन अनुदानमा परियोजना सञ्चालन गरिएको थियो।
आयोजना सम्पन्न भएपछि विराटनगरमा खानेपानी सेवा प्राप्त गर्ने जनसङ्ख्या ५२ हजारबाट बढेर ९३ हजार पुग्ने अपेक्षा गरिएको छ। सुरक्षित खानेपानीको नियमित आपूर्ति सुनिश्चित गर्दै टाइफाइड र ग्यास्ट्रोएन्टेराइटिसजस्ता पानीजन्य रोगको जोखिम घटाउने परियोजनाको लक्ष्य रहेको दूतावासले जनाएको छ।
परियोजनाअन्तर्गत एउटा आधुनिक पम्पिङ स्टेसन निर्माण गरिएको छ भने तीनवटा पुराना पम्पिङ स्टेसन पुनःस्थापना गरिएको छ। निर्माण कार्य शिमिजु कर्पोरेसनले र परामर्श सेवा याचियो इन्जिनियरिङले प्रदान गरेका हुन्। भौतिक संरचना निर्माणसँगै नेपाली प्राविधिकलाई पानीको गुणस्तर व्यवस्थापनसम्बन्धी जापानी विशेषज्ञता हस्तान्तरण गर्न क्षमता विकास कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
समापन समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपालका लागि जापानका राजदूत माएदा तोरु तथा स्थानीय अधिकारीहरू सहभागी थिए।
जापान सरकारले आगामी दशकौँसम्म दिगो रूपमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न खानेपानी मन्त्रालय र नेपाल खानेपानी संस्थानले आयोजनाका संरचनाको उचित सञ्चालन तथा मर्मतसम्भार गर्ने अपेक्षा गरेको छ।
नेपाल र जापानबीच यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष मनाइँदै छ। जापानी दूतावासले यो परियोजना दुई देशबीचको दीर्घकालीन मित्रता र सहकार्यको प्रतीक भएको जनाएको छ।



