तस्बिर स्रोत : इजरायली दूतावास
काठमाडौँ- साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), स्वास्थ्य प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नेपालसँग सहकार्यका सम्भावना खोज्न इजरायलको सूचना प्रविधि तथा एआई क्षेत्रका प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको छ।
नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा चार सदस्यीय टोलीले यसै साता नेपाल भ्रमण गरेको हो। भ्रमणका क्रममा टोलीले सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा विभिन्न संस्थागत प्रतिनिधिसँग भेटघाट र छलफल गरेको दूतावासले जनाएको छ।
भ्रमणका क्रममा टोलीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनसँग भेट गरी विपद् पूर्वतयारी, नवप्रवर्तन तथा विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगका विषयमा छलफल गरेको थियो। त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संस्थागत सम्बन्ध विस्तार र सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।
नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीज (नास–आईटी)का प्रतिनिधिसँगको भेटमा नेपाली तथा इजरायली आइटी कम्पनीबीच साझेदारीका सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो। नेपाल प्रहरीसँगको छलफल साइबर सुरक्षा क्षेत्रमा सम्भावित सहकार्यमा केन्द्रित थियो।
टोलीले काठमाडौँ विश्वविद्यालय र एम्बार्क कलेजको भ्रमण गरी प्राध्यापक तथा विद्यार्थीसँग अन्तरक्रिया गरेको थियो। अन्तरक्रियाका क्रममा इजरायलको प्राविधिक विकास र अनुभव साझा गर्दै शैक्षिक सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो। टोलीले स्वास्थ्य प्रविधिमा संस्थागत सहकार्यका सम्भावना खोज्न नेपाल मेडिसिटी अस्पतालको पनि भ्रमण गरेको थियो।
भ्रमण टोलीमा प्रिसिजन सिस्टम्सका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इटाय डानेनबर्ग, भ्यालु कन्सल्टिङ ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत इरेज आर्ये, इजरायलको अर्थतथा उद्योग मन्त्रालयअन्तर्गत राष्ट्रिय विकास निर्देशनालयको उच्च प्रविधि समूह प्रमुख इन्बाल मिन्कम्यान र मामराम एलुम्नाइ एसोसिएसनका अध्यक्ष तथा फास्ट लेन इजरायलका प्रमुख कार्यकारी अधिकृत योसी मेलामेड सहभागी थिए। टोलीसँग इजरायली दूतावासकी उपप्रमुख जानान बेबार पनि सहभागी थिइन्।
भ्रमणले प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा नेपाल तथा इजरायलबीच द्विपक्षीय सहकार्य विस्तार गर्न संवाद, अनुभव आदानप्रदान र साझेदारीका नयाँ अवसर खोज्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको बेबारले बताइन्।
‘प्रविधि, नवप्रवर्तन र उद्यमशीलतामा द्विपक्षीय सहकार्य सुदृढ गर्ने निरन्तर प्रयासको हिस्साका रूपमा प्रतिष्ठित इजरायली टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ। यो भ्रमणले संवादलाई प्रवर्द्धन गर्न, विशेषज्ञता आदानप्रदान गर्न र नेपाल तथा इजरायलबीच पारस्परिक लाभदायक साझेदारीका नयाँ मार्ग खोज्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ,’ उनले भनिन्।
यी सम्बन्ध सार्थक सहकार्य र साझा सफलतामा परिणत हुने अपेक्षा गरिएको उनले बताइन्। नेपालस्थित इजरायली दूतावासले दुई देशबीच निकट सम्बन्ध विस्तार तथा पारस्परिक लाभदायक सहकार्य प्रवर्द्धनका लागि सहजीकरण जारी राख्ने प्रतिबद्धता जनाएको छ।



