फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ११ गते बिहान ६ बजेसम्मको पछिल्लो २४ घण्टामा ती चालकहरूलाई कारबाही गरिएको हो।
कार्यालयले सार्वजनिक गरेको दैनिक ट्राफिक कारबाही विवरणअनुसार तोकिएको भन्दा तीव्र गतिमा सवारी चलाउने ११७ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ।
यसैगरी, सिसिटिभी निगरानीमार्फत ट्राफिक नियम उल्लङ्घन गरेको पाइएका ४७ जना र ट्राफिक बत्ती (रेड लाइट) उल्लङ्घन गर्ने ३९ जना चालक कारबाहीमा परेका छन्। सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ३४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १० जना तथा लेन अनुशासन उल्लङ्घन गर्ने ६ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।
उक्त अवधिमा ‘वान वे’ (एकतर्फी बाटो) उल्लङ्घनमा भने कोही पनि कारबाहीमा परेका छैनन्। अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने ५६७ जना चालकमाथि कारबाही भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ।



