काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बल नेपालका एकाइहरूको निरीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी व्यावसायिकता, कार्यसम्पादनको वास्तविक नतिजा, सीमा सुरक्षाको प्रभावकारिता र नागरिकको जनविश्वासलाई मूल्यांकनको मुख्य आधार बनाउन निर्देशन दिएका छन्।
बिहीबार (मंसिर १० गते) सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा केन्द्रीय निरीक्षणमा खटिने टोलीका सदस्यहरूका लागि सञ्चालन गरिएको अनुशिक्षण तालिमको समापन कार्यक्रममा महानिरीक्षक पौडेलले यस्तो निर्देशन दिएका हुन्।
उक्त तालिम सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट एकाइहरूको छनोट तथा योग्यताक्रम निर्धारणसम्बन्धी स्थायी आदेश, २०८० (तेस्रो संशोधन) बमोजिम सञ्चालन गरिएको थियो।
महानिरीक्षक पौडेलले निरीक्षण टोलीलाई कुनै पूर्वाग्रह, व्यक्तिगत स्वार्थ वा पहुँचका आधारमा नभई निर्धारित कार्यविधि र निष्पक्ष मापदण्डअनुसार एकाइहरूको निरीक्षण गर्न निर्देशन दिए।
उनले एकाईभित्र कमान्डर र फौजबीचको सामञ्जस्य, गुनासो व्यवस्थापन तथा आन्तरिक अनुशासनको अवस्थालाई सूक्ष्म रूपमा मूल्यांकन गर्नुपर्ने बताए।
निरीक्षण टोलीले एकाइभित्रका गतिविधिमा मात्र सीमित नभई अन्य सुरक्षा निकाय, स्थानीय सरकार तथा सरोकारवाला निकायसँगको समन्वय र सशस्त्र प्रहरीप्रति नागरिकको विश्वासको अवस्थासमेत वास्तविक रूपमा मापन गर्नुपर्ने उनले बताए।
निरीक्षणमा खटिने कमान्डर तथा टोली सदस्यहरूले उच्च नैतिक आचरण र व्यावसायिक अनुशासन प्रदर्शन गर्नुपर्नेमा पनि उनले जोड दिए।
विगतका मूल्यांकन अभ्यासलाई परिमार्जन गर्दै वाहिनी, गण, गुल्म, तालिम केन्द्र तथा सीमा सुरक्षा बेसहरूको भूमिका थप उत्तरदायी र जवाफदेही बनाउन विभिन्न निरीक्षण टोली गठन गरी प्रदेशस्तरमा परिचालन गरिएको महानिरीक्षक पौडेलले जानकारी दिए। उनले निरीक्षणलाई संस्थागत सुधारको माध्यम बनाउनुपर्ने बताए।
अनुशिक्षण तालिमको उद्घाटन मंसिर ९ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलले गरेका थिए। उनले फरक फरक निरीक्षण टोलीबाट मूल्यांकन गर्दा हुन सक्ने त्रुटि न्यूनीकरण गरी देशभरका एकाइहरूलाई एउटै मापदण्डमा मूल्यांकन गर्न अनुशिक्षण तालिम सञ्चालन गरिएको बताए।
निरीक्षण कार्यलाई पारदर्शी र निष्पक्ष बनाउन उच्च अधिकृतहरूको नेतृत्वमा विभिन्न विशेष टोली परिचालन गरिने जनाइएको छ। निरीक्षण टोलीलाई निर्धारित ढाँचामा प्रतिवेदन तयार गर्नुका साथै एकाइहरूको वास्तविक वस्तुस्थिति झल्किने प्रतिवेदनसमेत पेस गर्ने अधिकार दिइएको छ।
आर्थिक अनुशासन र सुशासन कायम गर्न निरीक्षण टोलीमा लेखा अधिकृतहरूलाई समेत समावेश गरिएको छ। टोलीले एकाइहरूमा विनियोजित पुँजीगत बजेटअनुसार कार्यक्षेत्रमा वास्तविक काम भए नभएको सूक्ष्म अनुगमन गर्नेछ।
निरीक्षण सम्पन्न भएपछि वस्तुनिष्ठ समीक्षा गरी सशस्त्र प्रहरी बल नेपालको आगामी नीतिगत परिमार्जन, रणनीतिक योजना निर्माण तथा कार्यविधिगत सुधारमा निरीक्षणबाट प्राप्त निष्कर्षलाई उपयोग गर्ने योजना रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।



