आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

हिमाल प्रेस १० मंसिर २०८३ १८:४६ | Thursday, November 26, 2026
आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

काठमाडौँ – आदिवासी जनजाति समुदायको पुख्र्यौली थातथलोमा विकास आयोजना वा गतिविधि सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति अनिवार्य गर्ने राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ।

आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल आदिवासी जनजाति महासंघले बिहीबार संयुक्त रूपमा ‘आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति कार्यान्वयन राष्ट्रिय निर्देशिका, २०८३’ सार्वजनिक गरेका हुन्।

आयोगका अध्यक्ष रामबहादुर थापा मगरले निर्देशिकाअनुसार सम्बन्धित समुदायको सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले उनीहरूको थातथलोमा आयोजना सञ्चालन गर्न नपाउने बताए।

निर्देशिकामा आयोजना निर्माणअघि प्रभावित समुदायका प्रतिनिधिको सहभागितामा नक्सांकन गर्नुपर्ने, सम्भावित लाभ र हानिबारे स्पष्ट जानकारी दिनुपर्ने तथा समुदायले आयोजना अस्वीकार गर्न सक्ने व्यवस्था छ।

सहमति दिने वा नदिने अन्तिम अधिकार सम्बन्धित समुदायको प्रथाजन्य संस्थामा रहनेछ।

सरकार संलग्न आयोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने तथा सहमति प्राप्त भइसकेपछि पनि प्रतिकूल असर देखिए आयोजना स्थगन गर्न सकिने व्यवस्था निर्देशिकामा समेटिएको छ।

सहमति प्रक्रियाको सम्पूर्ण खर्च सम्बन्धित आयोजनाले व्यहोर्नुपर्नेछ।

निर्देशिका कार्यान्वयनका लागि राष्ट्रिय सहजीकरण संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ। कार्यान्वयनका क्रममा उत्पन्न विवाद तथा गुनासो आदिवासी जनजाति आयोगले सुन्ने व्यवस्था पनि गरिएको छ।

आयोगका अध्यक्ष मगरले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा उल्लेखित अधिकार कार्यान्वयनका लागि निर्देशिका आवश्यक भएको बताए।

उनले यसलाई सरकारी दस्तावेजका रूपमा कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण तथा संशोधन गर्न सरकारसँग आग्रह गरे।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामाले महासंघले २०७० सालमा तयार गरेको निर्देशिकालाई परिमार्जन र एकीकृत गरी सार्वजनिक गरिएको जानकारी दिइन्।

उनले निर्देशिका कार्यान्वयनका लागि राज्य, विकास साझेदार र दातृ निकायको सहकार्य आवश्यक रहेको बताइन्।

प्रकाशित: १० मंसिर २०८३ १८:४६ | Thursday, November 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast