काठमाडौँ- इस्लामिक स्टेट (आईएसआईएस) समूहमा आवद्ध भएको आरोपमा इराकको एक अदालतले ८ जना फ्रान्सेली नागरिकलाई जन्मकैदको सजाय सुनाएको छ भने अन्य दुई जनालाई १५ वर्ष जेल सजाय तोकेको छ।
समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अदालतले बिहीबार यो फैसला सुनाएको हो।
आईएसआईएससँग जोडिएको आरोपमा कुल २० जना अभियुक्तको मुद्दामा फैसला सुनाउने तयारी गरे पनि बाँकी १० जना प्रतिवादीको फैसला भने हाललाई स्थागित गरिएको छ।
उनीहरुलाई गत वर्ष सिरियाबाट इराक ल्याइएको थियो। यसअघि अदालतले सोही समूहका १५ जना अन्य सदस्यलाई जन्मकैद र एक जनालाई १५ वर्ष जेलको सजाय सुनाइसकेको छ। सुनवाइका क्रममा अधिकांश अभियुक्तले आफ्नो कसुर स्वीकार गरेका र आईएसआईमा आवद्ध भएकामा पश्चाताप गरेका थिए।
केही अभियुक्तले आफूलाई फ्रान्स पठाउन मागसमेत गरेका थिए। आईएसआईले सन् २०१४ मा सिरिया र इराकको ठूलो भूभाग कब्जा गरेको थियो। यो समूहमा सामेल हुन युरोपलगायत विश्वका विभिन्न देशबाट मानिसहरु सिरिया र इराक पुगेका थिए।



