कैलाली- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ ।
कार्यालयले मंसिर १ गतेदेखि जिल्लाका छवटा खरिद उपकेन्द्रमार्फत धान खरिद सुरु गरेको हो । कार्यालय प्रमुख दीपक थापाका अनुसार हालसम्म १५ हजार ८५२ दशमलव २७ क्विन्टल धान खरिद गरिएको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ निर्धारण गरेको छ । सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको थापाले बताए ।
यस वर्ष कैलालीका लागि ३० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ । गत वर्ष ३५ हजार क्विन्टल कोटा रहेकामा यस वर्ष पाँच हजार क्विन्टल घटाइएको हो ।
कम्पनीले जिल्लाका मोहनपुर, टीकापुर, सत्ती, गौरीगंगा, भजनी र जोशीपुर खरिद उपकेन्द्रबाट धान खरिद गरिरहेको छ ।
हालसम्म मोहनपुर केन्द्रबाट ३ हजार ९७० दशमलव ३७ क्विन्टल, टीकापुरबाट २ हजार ६७५ दशमलव ४६, सत्तीबाट ३ हजार ६६ दशमलव ३५, गौरीगंगाबाट १ हजार ६५२ दशमलव १, भजनीबाट २ हजार ३९० दशमलव ५ र जोशीपुरबाट २ हजार ९७ दशमलव ४९ क्विन्टल धान खरिद भएको छ ।
सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न पाउँदा किसानलाई राहत पुगेको छ । तर, गत वर्षको तुलनामा खरिद कोटा घटाइएकाले सरकारी खरिद प्रणालीबाट लाभान्वित हुने किसानको संख्या र खरिद हुने धानको परिमाण प्रभावित हुन सक्ने देखिएको छ ।
सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा धान खरिदको कोटा बढाउन माग भएपछि खरिद प्रक्रिया अघि बढ्न सकेको छैन । जिल्लामा यस वर्ष आठ हजार क्विन्टल मोटा धान खरिद गर्ने कोटा निर्धारण गरिएकामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको प्राथमिक खरिद समितिले २० हजार क्विन्टल खरिद गर्न माग गरेको छ ।
कार्यालय प्रमुख थापाका अनुसार समितिको कात्तिक २० गतेको निर्णयअनुसार कोटा बढाउन केन्द्रमा पहल भइरहेको छ । कोटा थप गर्ने विषयमा निर्णय भएपछि खरिद प्रक्रिया अघि बढ्ने उनले बताए ।



