धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

हिमाल प्रेस ८ मंसिर २०८३ २१:२१ | Tuesday, November 24, 2026
धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा

काठमाडौँ- नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालको सहकार्यमा काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पताल परिसरमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ स्थापना गरिएको छ।

नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले मंगलबार उक्त वार्डको उद्घाटन गरिएको हो।

नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरी र धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले संयुक्त रूपमा वार्डको उद्घाटन गरे।

नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत सहयोग प्राप्त यस वार्डले जलनका बिरामीलाई गुणस्तरीय, विशेषज्ञतायुक्त तथा बिरामी केन्द्रित उपचार सेवा प्रदान गर्न अस्पतालको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

बैंकले यसअघि सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गर्दै आएकोमा यस वार्डमार्फत सोही अभियानलाई संस्थागत रूप दिएको हो।

नेपालमा जलनका घटना अझै पनि गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेका छन्। यस्ता बिरामीलाई तत्काल उपचारका साथै विशिष्टीकृत चिकित्सा सेवा, शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक परामर्शको आवश्यकता पर्दछ।

नयाँ वार्डको स्थापनाले यी सेवामा बिरामीको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै नबिल बैंकका अध्यक्ष चौधरीले संस्थाको वास्तविक सफलता आर्थिक उपलब्धिले मात्र नभई समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट मापन गरिनुपर्ने बताए।

‘जलनका बिरामीले लामो र चुनौतीपूर्ण स्वास्थ्यलाभको यात्रा तय गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सीमित स्वास्थ्य पूर्वाधारका कारण कुनै पनि परिवार गुणस्तरीय उपचार सेवाबाट वञ्चित हुनुहुँदैन।’

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले यसअघि सञ्चालन गरिएका शिविरहरूबाट देशभरका करिब ५०० जलन प्रभावितले लाभ लिएको जानकारी दिए।

उनले धुलिखेल अस्पतालसँगको सहकार्यमा स्थापित यो सुविधा बिरामी तथा तिनका परिवारका लागि उपचार, आशा र सम्मानको केन्द्र बन्ने विश्वास व्यक्त गरे।

यस्तै, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. श्रेष्ठले सामुदायिक अस्पतालका रूपमा ग्रामीण समुदायलाई सेवा दिँदै आएको अस्पतालले नबिल बैंकको सहयोगमा समग्र जलन उपचार सेवाको उत्कृष्ट नमुना विकास गर्न लागेको बताए।

उद्घाटन कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारी, स्वास्थ्यकर्मी, सरोकारवाला तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ८ मंसिर २०८३ २१:२१ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast