ऊर्जा क्षेत्रमा बैंकको ऋण लगानी १८.१८ प्रतिशतले बढ्यो

हिमाल प्रेस ८ मंसिर २०८३ २१:१३ | Tuesday, November 24, 2026
ऊर्जा क्षेत्रमा बैंकको ऋण लगानी १८.१८ प्रतिशतले बढ्यो

काठमाडौँ- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमास (साउन, भदौ र असोज) मा वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा प्रवाह गरेको कर्जा १८.१८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जलविद्युत्‌लगायत ऊर्जा क्षेत्रमा बैंकहरूको लगानी उल्लेख्य रूपमा विस्तार भएको हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको तथ्यांकअनुसार २० वाणिज्य बैंकले ऊर्जा क्षेत्रमा प्रवाह गरेको कुल कर्जा असोज मध्यसम्ममा पाँच खर्ब २५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार खर्ब ४५ अर्ब एक करोड रुपैयाँ थियो।

एक वर्षको अवधिमा बैंकहरूले ऊर्जा क्षेत्रमा थप ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

ऊर्जा क्षेत्रमा बैंकहरूले प्रवाह गर्ने अधिकांश कर्जा जलविद्युत् उत्पादनमा लगानी हुने गरेको छ। नेपालमा जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले सामान्यतया ७०ः३० को ऋण तथा पुँजी अनुपातमा आयोजना निर्माण गर्छन्। यसमा प्रवर्द्धक र सर्वसाधारणको लगानीसँगै बैंकहरूको दीर्घकालीन कर्जा समावेश हुन्छ। जलविद्युत् आयोजना निर्माणमा ठूलो पुँजी आवश्यक पर्ने भएकाले बैंकहरूले प्रायः समूह बनाएर संयुक्त रूपमा कर्जा लगानी गर्ने गरेका छन्।

वाणिज्य बैंकहरूमध्ये नबिल बैंकको ऊर्जा क्षेत्रमा सबैभन्दा बढी कर्जा लगानी रहेको छ। असोज मध्यसम्ममा बैंकले यस क्षेत्रमा ५७ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। एक वर्षमा बैंकको ऊर्जा क्षेत्रको कर्जा ३७.६३ प्रतिशतले बढेको हो।

कुमारी बैंक दोस्रो स्थानमा छ। बैंकको ऊर्जा क्षेत्रमा प्रवाहित कर्जा ३५.०६ प्रतिशत अर्थात् १४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीले बढेर ५५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ३६ अर्ब १३ करोड रुपैयाँ कर्जासहित तेस्रो स्थानमा छ। बैंकको ऊर्जा क्षेत्रको कर्जा एक वर्षमा ११.५७ प्रतिशतले बढेको छ।

त्यस्तै, लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंक क्रमशः चौथो र पाँचौँ स्थानमा छन्। यी बैंकको ऊर्जा क्षेत्रमा कुल कर्जा लगानी क्रमशः ३५ अर्ब ६० करोड र ३३ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

ऊर्जा क्षेत्रमा कर्जा विस्तारको वृद्धिदर सबैभन्दा बढी एनआईसी एसिया बैंकको देखिएको छ। बैंकको यस्तो कर्जा ६४.९२ प्रतिशतले बढेर तीन अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले यस क्षेत्रमा दुई अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

वृद्धिदरका आधारमा एभरेस्ट बैंक दोस्रो स्थानमा छ। बैंकको ऊर्जा क्षेत्रको कर्जा ५४.८५ प्रतिशतले बढेर असोज मध्यसम्ममा ३१ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २० अर्ब ३८ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा भने तीन वाणिज्य बैंकको ऊर्जा क्षेत्रमा प्रवाहित कर्जा घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको कर्जा सबैभन्दा धेरै ३६.३९ प्रतिशतले घटेको छ। बैंकको ऊर्जा क्षेत्रको कर्जा अघिल्लो वर्षको आठ अर्ब ४१ करोड रुपैयाँबाट घटेर पाँच अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ।

प्रकाशित: ८ मंसिर २०८३ २१:१३ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast