‘वेश्यावृत्ति’ शब्दको सट्टा उपयुक्त विकल्प खोजिने

हिमाल प्रेस ८ मंसिर २०८३ १३:४५ | Tuesday, November 24, 2026
‘वेश्यावृत्ति’ शब्दको सट्टा उपयुक्त विकल्प खोजिने सिंहदरबारमा मंगलबार बसेको महिला तथा सामाजिक मामिला समितिको २३औँ बैठक। तस्बिर : रासस

काठमाडौँ- मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको सट्टा उपयुक्त विकल्प खोजिने भएको छ। प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उक्त शब्दको विकल्प र त्यसले पार्ने कानुनी प्रभावबारे छलफल भएको हो।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयले विभिन्न चरणमा छलफल गरे पनि उपयुक्त विकल्पबारे निष्कर्षमा पुग्न नसकिरहेको समितिलाई जानकारी गराइन्।

उपयुक्त शब्द सुझाउन समिति सदस्यलाई आग्रह गर्दै उनले उपयुक्त विकल्प दिए मन्त्रालय त्यसलाई विधेयकमा समावेश गर्न सकारात्मक रहेको बताइन्।

समिति सभापति आकृति अवस्थीले शब्द परिवर्तन गर्दा त्यसले समेट्दै आएको कानुनी अर्थ नहराउने र अपराधमा संलग्न व्यक्ति सजायबाट उम्कन नसक्ने गरी विकल्प खोज्नुपर्ने बताइन्।

उनले शारीरिक शोषणको परिभाषाले कुटपिट, अंग बेचबिखन र जबर्जस्ती श्रममा लगाउने कार्यसमेत समेट्न सक्ने उल्लेख गर्दै ‘वेश्यावृत्ति’ शब्दको विकल्प खोज्दा कुनै पनि अर्थ छुट्न नहुनेमा जोड दिइन्।

उक्त विषयमा ठोस विकल्पमा सहमति जुट्न नसकेपछि समितिले विधेयकको सम्बन्धित दफामाथिको छलफल अर्को बैठकमा गर्ने भएको छ।

विधेयकमा के छ?

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकको दफा ३ को उपदफा ४ को खण्ड (ङ) मा ‘शोषण’ भन्नाले दास वा बाँधा बनाउने वा त्यस्तो हैसियतमा राख्ने, वेश्यावृत्तिमा लगाउने, विद्युतीय वा अन्य कुनै माध्यम प्रयोग गरी वा नगरी यौन शोषण गर्ने, प्रचलित कानुनबमोजिम बाहेक मानिसको अङ्ग झिक्ने वा जबर्जस्ती श्रममा लगाउने कार्य सम्झनु पर्छ भन्ने उल्लेख छ। रासस

प्रकाशित: ८ मंसिर २०८३ १३:४५ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast