जनकपुर-अयोध्या रेलबारे जान्नैपर्ने ९ कुरा

हिमाल प्रेस ८ मंसिर २०८३ १३:१९ | Tuesday, November 24, 2026
जनकपुर-अयोध्या रेलबारे जान्नैपर्ने ९ कुरा भारतको अयोध्याधामबाट नेपालको जनकपुरधामसम्म साप्ताहिक यात्रुवाहक रेल सेवाको शुभारम्भका क्रममा मंगलबार जनकपुर रेल्वे स्टेसनमा आइपुगेको ‘सरयु कमला एक्सप्रेस’ को रेल। तस्बिर : रासस

काठमाडौँ- जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा प्रारम्भ भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भर्चुअल माध्यमबाट ६०४ किलोमिटर लामो जनकपुरधाम-अयोध्या रेल सेवाको संयुक्त उद्घाटन गरेपछि मंगलबार एउटा रेल जनकपुर आइपुगेको छ।

सीता जन्मस्थल  जनकपुरधाम र राम जन्मस्थल अयोध्यालाई जोड्ने यो रेल सेवाले दुई देशबीच धार्मिक पर्यटन, सीमापार आवागमन र सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ। बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुने रेलले करिब १९ घण्टामा यात्रा पूरा गर्नेछ।

१. कहिलेदेखि नियमित सञ्चालन हुन्छ?

जनकपुरधाम-अयोध्या क्यान्ट साप्ताहिक एक्सप्रेसले नोभेम्बर २८ अर्थात् मंसिर १३ गतेदेखि नियमित सेवा सुरु गर्ने भारतीय  अधिकारीहरूले बताएका छन्। रेल सातामा एक दिन दुवैतर्फ सञ्चालन हुनेछ। जनकपुरधामबाट शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्ने तालिका छ।

२. जनकपुरधामबाट रेल कहिले छुट्छ?

रेल नम्बर १५५९५ जनकपुरधामबाट प्रत्येक शनिबार नेपाली समयअनुसार दिउँसो १ः१० बजे अयोध्याका लागि प्रस्थान गर्नेछ। रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्ने तालिका छ।

३. अयोध्याबाट जनकपुरधाम फर्किने समय?

रेल नम्बर १५५९६ अयोध्या क्यान्टबाट प्रत्येक सोमबार भारतीय समयअनुसार साँझ ५ः५० बजे जनकपुरधामका लागि छुट्नेछ। रेल मंगलबार नेपाली समयअनुसार दिउँसो १२ः४० बजे जनकपुरधाम पुग्नेछ।

४. रेलले कति दूरी पार गर्छ?

जनकपुरधामदेखि अयोध्या क्यान्टसम्मको रेलमार्ग दूरी करिब ६०४ किलोमिटर छ। बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै रेलले करिब १९ घण्टामा गन्तव्य पुग्नेछ।

५. कुन-कुन स्टेसनमा रोकिन्छ?

जनकपुरधाम र अयोध्या क्यान्ट अन्तिम गन्तव्यबाहेक रेलले मार्गका विभिन्न १० स्टेसनमा रोकिनेछ। यी स्टेसनमा यात्रु चढ्न र ओर्लन सक्नेछन्।
– जयनगर
– मधुबनी
– सिसो
– सीतामढी
– रक्सौल
– नरकटियागन्ज
– गोरखपुर
– बस्ती
– मनकापुर
– अयोध्याधाम

६. रेलमा कति कोच छन्?

जनकपुरधाम-अयोध्या रेल सेवा १७ कोचयुक्त आधुनिक एलएचबी (लिंके होफम्यान बुश) रेलमार्फत सञ्चालन हुनेछ। रेलमा रहेका कोचको संरचना यस्तो छ :
– ८ एसी कोच : वातानुकूलित यात्रु सेवा
– ७ स्लिपर कोच : सुत्न मिल्ने यात्रु कोच
– १ एलएसएलआरडी कोच : दोस्रो श्रेणी, सामान, ब्रेक तथा अपांगमैत्री सुविधा
– १ एलडब्लूएलआरआरएम कोच : पावर कार, जेनेरेटर, सामान तथा ब्रेक भ्यान

७. टिकटको मूल्य कति?

जनकपुरधाम-अयोध्या क्यान्ट साप्ताहिक एक्सप्रेसको टिकट मूल्य सार्वजनिक भइसकेको छैन। भारतीय रेलको टिकट बुकिङ प्रणाली आईआरसीटीसीमार्फत टिकट मूल्य तथा बुकिङसम्बन्धी विवरण सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

८. रेल यात्राका लागि भिसा चाहिन्छ?

नेपाल र भारतबीचको विद्यमान यात्रा व्यवस्थाअनुसार नेपाली नागरिक भारत प्रवेश गर्न भिसा लिनुपर्दैन। यसैगरी भारतीय नागरिकले पनि नेपाल प्रवेश गर्न भिसा लिनु पर्दैन। यात्राका क्रममा वैध परिचय बोक्नुपर्नेछ। यात्रा कागजात साथमा राख्नुपर्नेछ भने सीमा पार गर्दा लागू हुने जाँच प्रक्रिया पूरा गर्नुपर्नेछ।

९. जनकपुर-अयोध्या रेलले के बदल्छ?

जनकपुरधाम र अयोध्यालाई एउटै रेल सेवामार्फत जोडिएपछि रामायणसँग सम्बन्धित धार्मिक पर्यटन सर्किटको यात्रा थप सहज हुने अपेक्षा गरिएको छ। यसअघि भारतबाट जनकपुरधाम आउने यात्रुले जयनगरमा रेल परिवर्तन गर्नुपर्ने अवस्था थियो। नयाँ सेवाबाट सीमा जाँचसम्बन्धी प्रक्रिया पूरा गरेपछि एउटै रेलमार्फत यात्रा गर्न सकिने अपेक्षा गरिएको छ।

सीताको जन्मभूमि जनकपुरधाम र रामको जन्मस्थल मानिने अयोध्याबीच रेल सम्पर्क विस्तारले तीर्थयात्री, पर्यटक, विद्यार्थी, व्यवसायी तथा आफन्त भेटघाटका लागि आवतजावत गर्ने यात्रुलाई सुविधा पुग्ने अपेक्षा छ। यसले सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन, होटल तथा स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पार्न सक्ने विश्वास दुवै देशका अधिकारीहरूले गरेका छन्।

प्रकाशित: ८ मंसिर २०८३ १३:१९ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast