दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

हिमाल प्रेस ५ मंसिर २०८३ १६:१३ | Saturday, November 21, 2026
दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

काठमाडौँ- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन् भने अर्का एक छोरा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो।

अस्पतालमा चिकित्सकले परीक्षण गर्दा तपेन्द्र र करिस्मालाई मृत घोषणा गरेका थिए। मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकामा दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। गम्भीर घाइते मिलनको उपचार भइरहेको छ।

घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर टाढा पर्छ। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिए।

प्रकाशित: ५ मंसिर २०८३ १६:१३ | Saturday, November 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast