काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको कनक चैत्य महाविहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत कल्याण र शान्तिका लागि ५० वर्षपछि आयोजना भएको महायज्ञमा सहभागी भएका छन्।
आर्यावलोकितेश्वर सुधार समूहको आयोजना भएको उक्त महायज्ञ बिहिबारदेखि सुरु भएको हो । महायज्ञको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेल सहित सहभागी भएका हुन्। महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्म देशना, स्वस्तिक वाचन र धार्मिक पूजापाठ लगायतका विधिहरू समावेश गरिएको नेपालको नेवाः बौद्ध तथा तान्त्रिक परम्पराः काठमाडौँ उपत्यकाको नेवाः संस्कृति अर्थात विशेषगरी बज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्वपूर्ण मानिने आर्यावलोकितेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिए।
काठमाडौँको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मत्स्येन्द्रनाथ मन्दिर) लगायतका ऐतिहासिक विहारहरूमा यो महायज्ञ तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा छ। राष्ट्रपति पौडेलले सो क्रममा सेतो मत्स्येन्द्रनाथ मन्दिर दर्शन गर्नुका साथै महायज्ञको हवनमा सहभागी भएर भेटी प्रदान गरे।
कार्यक्रममा उmर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौ महानगरका कार्यवाहक नगरप्रमुख सुनिता डंगोललगायत विशिष्ठ व्यक्तिको सहभागिता रहेको थियो ।



