एनपीएल फाइनल : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

हिमाल प्रेस ४ मंसिर २०८३ २१:०६ | Friday, November 20, 2026
16
SHARES
एनपीएल फाइनल : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार प्रतिस्पर्धा हुँदैछ।

लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले उपाधि जित्ने आत्मविश्वास व्यक्त गरे।

लुम्बिनीका कप्तान रोहित पौडेलले पर्याप्त विश्राम र अभ्यासपछि टोली फाइनलका लागि तयार रहेको बताए। उनका अनुसार टोलीले तीन दिनको विश्राममध्ये दुई दिन आराम र एक दिन अभ्यासमा बिताएको थियो।

लिग चरणमा शीर्ष स्थान हासिल गर्दै प्लेअफमा पुगेको र जितको लय कायम राखेको भए पनि फाइनलमा त्यसले मात्र नतिजा निर्धारण नगर्ने पौडेलले बताए। क्रिकेट सामूहिक प्रदर्शनमा निर्भर रहने खेल भएकाले उपाधि जित्न मैदानमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

एनपीएलमा सुदूरपश्चिमविरुद्ध पछिल्ला तीन खेल जितेको भए पनि उसलाई कमजोर आँक्न नहुने पौडेलले बताए।सुदूरपश्चिम बलियो प्रतिद्वन्द्वी भएकाले फाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

लगातार दोस्रोपटक कप्तानका रूपमा उपाधि जित्ने अवसरलाई व्यक्तिगत उपलब्धिभन्दा पनि टोलीको सफलताका रूपमा लिएको उनले बताए। फाइनलसम्म आइपुग्न सबै खेलाडीले मिहिनेत गरेकाले उपाधि जित्नु टोलीका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पहिलो क्वालिफायरमा लुम्बिनीसँग व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्य रहेको बताए। उनले लुम्बिनीको बलियो बलिङ आक्रमणलाई फाइनलको मुख्य चुनौतीका रूपमा लिएको उल्लेख गरे।

फाइनलका लागि टोलीको तयारी राम्रो भइरहेको बताउँदै ऐरीले लुम्बिनीको बलिङ सामना गर्ने रणनीतिमा विशेष ध्यान दिइएको जानकारी दिए।

जारी प्रतियोगितामा विदेशी खेलाडी आउने र जाने क्रमले टोलीको संयोजनमा परिवर्तन गर्नुपरेको उनले बताए। विदेशी खेलाडी बाहिरिँदा नयाँ खेलाडी भित्र्याउनुपर्ने अवस्थाले ब्याटिङ क्रम व्यवस्थापनमा चुनौती थपिएको उनको भनाइ थियो।

लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम यसअघि दुवै संस्करणमा उपविजेतामा सीमित भएको थियो। यसपटक भने टोली पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।

प्रकाशित: ४ मंसिर २०८३ २१:०६ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast