युक्रेनलाई नेटोसरह सुरक्षा दिने प्रस्तावमा रुस सहमत हुने अमेरिकी दूतको विश्वास

हिमाल प्रेस ४ मंसिर २०८३ १६:०७ | Friday, November 20, 2026
युक्रेनलाई नेटोसरह सुरक्षा दिने प्रस्तावमा रुस सहमत हुने अमेरिकी दूतको विश्वास

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनरले युक्रेनलाई युद्धपछि नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी दिने प्रस्तावमा रुस सहमत हुन सक्ने विश्वास व्यक्त गरेका छन्।

बर्लिनमा बिहीबार करिब ४० युरोपेली नेताहरूसँग भएको छलफलमा कुशनरले रुसी पक्षलाई यस्तो सुरक्षा व्यवस्थाप्रति सकारात्मक बनाउन सकिएको बताएका हुन्।

बैठकमा सहभागी अर्का अमेरिकी विशेष दूत स्टिभ विटकफले पनि चीनमा राष्ट्रपति ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएका छलफलबारे युरोपेली नेताहरूलाई जानकारी गराएका थिए।

कुशनरका अनुसार राष्ट्रपति ट्रम्प युक्रेनलाई नेटोको धारा ५ सरहको सुरक्षा ग्यारेन्टी उपलब्ध गराउने पक्षमा सकारात्मक छन्। यस्तो व्यवस्था अमेरिकी हितअनुकूल हुनुका साथै व्यापक सुरक्षा प्याकेजको हिस्सा हुनुपर्ने उनको भनाइ छ। कुनै पनि सम्झौता युक्रेन र युरोपेली मुलुकहरूसँगको परामर्शमा मात्रै गरिने उनले बताए।

युक्रेनले भविष्यमा रुसबाट हुन सक्ने आक्रमण रोक्न भरपर्दो सुरक्षा प्रत्याभूति खोजिरहेको छ। अर्कोतर्फ, रुसले नेटोको सैन्य प्रभाव आफ्नो सीमाबाट टाढा राख्न चाहेको छ। नेटोको धारा ५ मा कुनै एक सदस्य राष्ट्रमाथि भएको सशस्त्र आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमण मानिने व्यवस्था छ। तर युक्रेनका लागि प्रस्तावित सुरक्षा ग्यारेन्टीको स्वरूप र त्यसमा रुसको सहमति हुने सम्भावना अझै स्पष्ट भइसकेको छैन।

यसैबीच, युक्रेनले क्रिमियालाई रुसी मुख्य भूमिसँग जोड्ने १९ किलोमिटर लामो केर्च पुलमा गरेको आक्रमणले युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ। रुसी राष्ट्रपति पुटिनले आक्रमणबाट पुलको सडक खण्डमा गम्भीर क्षति पुगेको बताएका छन्। चीनको सेन्जेनमा पत्रकारहरूसँग कुरा गर्दै उनले यसको जवाफ दिने चेतावनीसमेत दिएका छन्।

सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमियामाथिको नियन्त्रणको प्रतीक मानिने केर्च पुल रुसी सेनाका लागि सैन्य सामग्री तथा आपूर्ति ढुवानी गर्ने महत्त्वपूर्ण मार्ग हो। आक्रमणपछि रातभर अवरुद्ध भएको रेल सेवा बिहीबार दिउँसो पुनः सञ्चालन गरिएको रुसी समाचार संस्था आरआईए नोभोस्तीले जनाएको छ। युक्रेनको रक्षा मन्त्रालयले भने आक्रमणका कारण रुसी सेनाको इन्धन र गोलाबारुद आपूर्तिमा अवरोध पुग्ने बताएको छ।

युद्धभूमिमा दुवै पक्षबाट आक्रमण जारी छ। रुसी रक्षा मन्त्रालयका अनुसार बिहीबार राति देशका १० क्षेत्रमा ५३ युक्रेनी ड्रोन खसालिएका थिए। साराटोभ क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु र दुई जना घाइते भएको स्थानीय गभर्नर रोमन बुसार्गिनले बताएका छन्। त्यस्तै, ब्रायन्स्क क्षेत्रमा आठ वर्षीय नातिसँग साइकलमा रहेकी एक महिलाको पनि ड्रोन आक्रमणमा मृत्यु भएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार रुसले एन्टी-शिप क्षेप्यास्त्र र ९८ ड्रोन प्रहार गर्दा १८ स्थानमा आक्रमण भएको थियो। रुसी आक्रमणबाट युक्रेनका १२ क्षेत्रमा क्षति पुगेको तथा दुई जनाको मृत्यु र कम्तीमा २३ जना घाइते भएको बताइएको छ। किएभस्थित नेदरल्यान्ड्स र अस्ट्रियाका दूतावासमा समेत सामान्य क्षति पुगेको जनाइएको छ।

सैनिक जनशक्ति र सैन्य स्रोतसाधनको सङ्ख्यात्मक क्षमतामा आफू बलियो रहेको फाइदा उठाउँदै रुसले युक्रेनलाई कमजोर पार्ने रणनीति अपनाइरहेको छ। युक्रेनले भने ड्रोन आक्रमणमार्फत रुसी सेनाको अग्रगमन रोक्ने प्रयास गरिरहेको छ।

रुसले जाडोयाम सुरु हुनुअघि युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र बनाएको छ। जवाफमा युक्रेनले लामो दूरीका ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै रुसी तेल प्रशोधन केन्द्रलगायतका रणनीतिक लक्ष्यमा प्रहार गरिरहेको छ।

यसअघि चीनमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले पुटिनलाई ‘मित्र’ सम्बोधन गरेपछि युक्रेनका युरोपेली सहयोगीहरूमा चिन्ता बढेको छ। ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको सम्बन्ध पनि पछिल्लो समय कमजोर बन्दै गएको छ। ट्रम्प र पुटिनबीच हुने प्रत्यक्ष वार्ताले युरोपेली मुलुकहरूलाई शान्ति प्रक्रियाको निर्णयबाट बाहिर राख्न सक्ने आशंका युरोपेली नेताहरूले गरेका छन्।

प्रकाशित: ४ मंसिर २०८३ १६:०७ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast