शीर्ष नेताहरूसँग निर्वाचन आयोगको छलफल, के भयो कुराकानी?

हिमाल प्रेस ४ मंसिर २०८३ १५:२६ | Friday, November 20, 2026
शीर्ष नेताहरूसँग निर्वाचन आयोगको छलफल, के भयो कुराकानी?

काठमाडौँ- निर्वाचन आयोगले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक वा फरक-फरक समयमा गर्ने भन्ने विषयमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न सकिने सम्भावनाका साथै आर्थिक एवं व्यावहारिक पक्षबारे पनि छलफल भएको जानकारी दिए। यी विषयमा सहमतिमा निर्णय हुनुपर्नेमा शीर्ष नेताहरूले जोड दिएको उनले बताए।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा निर्वाचनसम्बन्धी विषयमा छलफल गरी सहमति खोजिने, आवश्यकतानुसार संविधान वा कानुन संशोधनका लागि राजनीतिक संवाद गर्ने, विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्ने, प्रविधिमैत्री निर्वाचन प्रणाली अपनाउने र बदर मत घटाउने विषयमा पनि छलफल भएको नेता खरेलले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलसँग आयोगले संवाद गर्नु सकारात्मक भएको बताए।

निर्वाचन खर्च र व्यावहारिकताका हिसाबले स्थानीय र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने अभ्यास रहे पनि दुवै तहका जनप्रतिनिधिको कार्यकाल फरक समयमा सकिने भएकाले विशेष परिस्थिति उत्पन्न भएको उनले बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै तहको निर्वाचन एकैपटक गर्दा पाँच वर्षे कार्यकाल पूरा गर्नुपर्नेलगायत संवैधानिक विषयमा आगामी बैठकमा छलफल गरी निष्कर्षमा पुग्ने समझदारी भएको बताए। विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आफूहरू सकारात्मक रहेको उनका कथन थियो।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्तहरूले निर्वाचनसम्बन्धी कानुनी व्यवस्था र हालसम्मको तयारीबारे जानकारी दिएका थिए।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ साल जेठ ५ गते र प्रदेशसभा सदस्यको कार्यकाल २०८४ साल चैत ५ गते पूरा हुँदैछ। कानुनी व्यवस्थानुसार दुवै तहको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि गर्नुपर्ने छ।

प्रकाशित: ४ मंसिर २०८३ १५:२६ | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast