भारतीय विदेश सचिव नेपालमा, सचिवस्तरीय बैठकमा सहभागी

हिमाल प्रेस १ फागुन २०७९ १३:०० | Monday, February 13, 2023
भारतीय विदेश सचिव नेपालमा, सचिवस्तरीय बैठकमा सहभागी

काठमाडौँ- परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन्। उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका हुन्।

काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका छन्। सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने जनाइएको छ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको उहाँको यो पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध छ। यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ।

यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

प्रकाशित: १ फागुन २०७९ १३:०० | Monday, February 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast