हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियारलाई फ्रान्सको कृषि योग्यतासम्बन्धी सम्मान

हिमाल प्रेस १ मंसिर २०८३ १५:४२ | Tuesday, November 17, 2026
हिमालयन फ्रेन्च चिजका संस्थापक ड्रियारलाई फ्रान्सको कृषि योग्यतासम्बन्धी सम्मान

काठमाडौँ- फ्रान्स सरकारले हिमालयन फ्रेन्च चिजका संस्थापक फ्राँस्वा ड्रियारलाई कृषि क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘अर्द्र दु मेरित अग्रिकोल’ (कृषि योग्यतासम्बन्धी सम्मान) प्रदान गरेको छ।

नेपालका लागि फ्रान्सेली राजदूत फ्राँस्वाज पुइग–इन्जाले हालै आयोजित समारोहमा ड्रियारलाई उक्त सम्मान प्रदान गरेकी हुन्। नेपालमा परम्परागत चिज उत्पादनको विकासमा उनले पुर्‍याएको योगदान र समर्पणको कदरस्वरूप सम्मान प्रदान गरिएको फ्रान्सेली दूतावासले जनाएको छ।

फ्रान्सेली चिज निर्माता ड्रियारले नेपाललाई आफ्नो कर्मभूमि बनाउँदै फ्रान्सको परम्परागत चिज बनाउने प्रविधि र नेपालको स्थानीय उत्पादनलाई जोड्ने उद्देश्यले हिमालयन फ्रेन्च चिज स्थापना गरेका थिए।

उनले नेपालको दुग्ध उत्पादनको सम्भावना उजागर गर्न, स्थानीय कालीगढलाई चिज बनाउने सीप सिकाउन तथा फ्रान्सेली पाककला र नेपाली कृषिबीच व्यावहारिक सहकार्य विस्तार गर्न योगदान पुर्‍याएको दूतावासको भनाइ छ।

परम्परागत सीप, स्थानीय साझेदारी र उद्यमशीलताको संयोजनबाट उपलब्धि हासिल गर्न सकिने उदाहरणका रूपमा दूतावासले उनको यात्रालाई चित्रण गरेको छ।

सम्मान प्रदान गर्ने समारोहमा राजदूत पुइग–इन्जाले नेपालको दुग्ध तथा चिज उत्पादन क्षेत्रमा ड्रियारले पुर्‍याएको योगदानको फ्रान्सले उच्च कदर गरेको बताइन्। उनको यात्राले नेपाल र फ्रान्सबीचको आदानप्रदानको महत्त्व उजागर गरेको उल्लेख गर्दै उनले यो उपलब्धिमा नेपाल, नेपाली जनता र यहाँको कृषि परिवेशको पनि महत्त्वपूर्ण भूमिका रहेको बताइन्।

सम्मान ग्रहणपछि ड्रियारले नेपालका प्राकृतिक दृश्य, परम्परा र यहाँका मानिस आफ्नो कामका लागि निरन्तर प्रेरणाका स्रोत बनेको बताए। उनले सम्मानका लागि फ्रान्स सरकार तथा आफ्नो यात्रामा साथ दिने नेपाली सहकर्मी र साझेदारप्रति आभार व्यक्त गरे। यो सम्मान उनीहरूको मेहनत र सहयोगको पनि कदर भएको उनको भनाइ थियो।

दूतावासका अनुसार यो सम्मानले कृषि, उद्यमशीलता र दिगो स्थानीय उत्पादनका क्षेत्रमा नेपाल र फ्रान्सबीचको सहकार्यलाई थप उजागर गरेको छ। व्यक्तिगत लगनशीलता र साझा सीप तथा अनुभवको आदानप्रदानले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सक्ने विश्वास पनि दूतावासले व्यक्त गरेको छ।

प्रकाशित: १ मंसिर २०८३ १५:४२ | Tuesday, November 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast