काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी बिहीबार (नोभेम्बर १९) चीनको सेन्जेनमा हुने त्रिपक्षीय बैठकमा सहभागी हुने भएका छन्।
ह्वाइट हाउसपछि मस्को र बेइजिङले पनि यस भेटवार्ताको पुष्टि गरेका छन्। बैठक एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको साइडलाइनमा हुनेछ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा भनिन्, ‘विश्व शान्तिको रक्षा र प्रमुख शक्तिहरूबीचको सम्बन्धमा रणनीतिक स्थिरता प्रवर्द्धन गर्ने विषयमा गहन विचारविमर्श हुनेछ। यो बैठकको महत्त्व अभूतपूर्व हुनेछ।’
बिहीबार हुने बैठक तीनै राष्ट्रप्रमुखबीचको पहिलो त्रिपक्षीय भेटवार्ता हुनेछ। अमेरिकी राष्ट्रपति ट्रम्पले यस्तो बैठकले तीनै नेताहरूलाई इरानसँग अमेरिकाको युद्ध र आणविक हतियारको भण्डारसम्बन्धी विषयमा त्रिपक्षीय सहमति जुटाउने आफ्नो लक्ष्यबारे छलफल गर्ने अवसर दिने बताएका छन्।
जानकारहरूका अनुसार बैठकको आयोजना गर्न सहमत भएर सी चिनफिङले चीनको बढ्दो प्रभाव र प्रतिष्ठा प्रदर्शन गर्ने अवसरका रूपमा यसलाई लिएको हुन सक्छ। अर्कोतर्फ, क्रेमलिनका लागि यो प्रस्तावित त्रिपक्षीय बैठक वासिङ्टन र बेइजिङकै समकक्षी महाशक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने अवसर हुनेछ।



