‘नेपथ्य’ सहरकेन्द्रित भ्रमणमा

हिमाल प्रेस १ मंसिर २०८३ १०:१५ | Monday, November 16, 2026
‘नेपथ्य’ सहरकेन्द्रित भ्रमणमा

काठमाडौँ- नेपथ्य ब्यान्डले नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती अनि मझौला सहरमा केन्द्रित हुँदै छ।

ब्यान्ड चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको नेपालयले प्रेस नोटमा उल्लेख गरेको छ।

ब्यान्डले अबको पहिलो कन्सर्ट मंसिर ३ मा सौराहामा गर्नेछ। त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र रहेको यस बस्तीको सिसुवार मैदान (सभागृहअगाडि) रोजिएको छ। यस कन्सर्टका लागि तोकिएका सहुलियत दरका टिकट निकैअघि बिक्री भइसकेका छन् । अन्य टिकट पनि थोरै मात्र बाँकी छन्।

दोस्रो कन्सर्ट स्याङ्जाको पुतलीबजारमा मंसिर ५ गते शनिबार हुनेछ। त्यहाँस्थित मालेबगर खेलमैदानमा नेपथ्यले लोकरक सुनाउन लागेको हो। त्यसपछि ब्यान्ड धौलागिरि हिमालको काखतिर लाग्नेछ। म्याग्दीको बेनीस्थित खुलामञ्चमा मङ्सिर ९ मा दर्शकसामु उपस्थित हुने नेपथ्यको तालिका छ।

चौथो कन्सर्ट तनहुँको बेलचौतारामा मंसिर १२ गते शनिबार हुनेछ। शुक्लागण्डकी नगरपालिकास्थित यो बस्ती राजमार्गसँग जोडिएको छ । कन्सर्ट भानुभक्त क्याम्पसको मैदानमा हुनेछ।

मुलुकभित्र अनि बाहिरका ठूला सहरहरूमा भव्य रूपमा प्रस्तुत हुँदै आएको नेपथ्यले साना सहर र बस्तीमा बसोबास गर्ने आफ्ना दर्शकको चाहनालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको यस यात्राले थप पुष्टि गर्नेछ।

यो पाला प्रस्तुत हुने यी चार स्थानमध्ये म्याग्दीको बेनीबाहेक सबै ठाउँमा ब्यान्ड पहिलोपटक उपस्थित हुन लागेको हो।

प्रकाशित: १ मंसिर २०८३ १०:१५ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast