रैथाने बासमती धान संकटमा

हिमाल प्रेस १ मंसिर २०८३ ८:२१ | Monday, November 16, 2026
रैथाने बासमती धान संकटमा

उदयपुर- कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको उदयपुरको रैथाने बासमती धानको खेती पछिल्लो समय संकटमा परेको छ। छोटो समयमै बढी उत्पादन दिने वर्णशंकर (हाइब्रिड) जातका धानप्रति कृषकको आकर्षण बढ्नु, सिँचाइको अभाव, रोगकिराको प्रकोप र उत्पादन लागत वृद्धि हुनुले यहाँको परम्परागत बासमती खेती लोप हुने अवस्थामा पुगेको हो।

विशेष गरी त्रियुगा नदीको तटीय क्षेत्रमा उत्पादन हुँदै आएको स्थानीय बासमती, करियाकामत (कालो बासमती) र चनमचुर धानको खेती क्रमशः घट्दै गएको छ। अन्य धानको तुलनामा बासमती खेती गर्न बढी समय र मेहनत लाग्ने तर उत्पादन निकै कम हुने भएकाले कृषकहरूले यसको खेती घटाउँदै लगेका हुन्।

स्थानीय कृषक सोमबहादुर दनुवारले ‘कृत्रिम बास्ना मिसाइएका आयातित बासमती चामलले बजार ओगटेपछि स्थानीय रैथाने बासमती विस्थापित हुँदै गएको’ बताएका छन्। चौदण्डीगढी नगरपालिका–१० हडियाका कृषक हरिप्रसाद पौडेलका अनुसार पहिले पर्याप्त उत्पादन दिने बासमती र चनमचुर धानले अहिले अपेक्षाअनुसार उत्पादन दिन छाडेकाले किसानले घरायसी उपभोगका लागि मात्र थोरै जमिनमा यसको खेती गर्ने गरेका छन्।

खेतीयोग्य जमिनको खण्डीकरण र उत्पादनमा आएको ह्रासले परम्परागत खेती खुम्चिँदै गएको पाइएको छ। त्रियुगा नगरपालिका–९ सुन्दरपुरका वडाध्यक्ष राजकुमार दनुवारका अनुसार उनका बाजेले १० बिघा र बुबाले तीनदेखि चार बिघासम्म बासमती खेती गर्ने गरेकामा अहिले निकै थोरै जग्गामा मात्र सीमित भएको छ। हाल स्थानीय बजारमा रैथाने बासमती चामल प्रतिकिलोग्राम करिब रु १३० मा बिक्री भइरहेको छ।

त्रियुगा नगरपालिका–११ गाईघाटका अग्रज कृषक नारायणबहादुर बस्नेत र त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख माधव राउतले जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै जानु र पशुपालन घट्दा कम्पोस्ट मलको अभाव हुनुले पनि रैथाने धानको उत्पादनमा ठूलो धक्का पुगेको बताएका छन्।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा जिल्लाको १३ हजार ३८० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ८७७ हेक्टरमा धान खेती गरिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा १२ हजार ९१२ हेक्टरमा खेती हुँदा ३१ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो।

जिल्लामा धान खेती हुने कूल क्षेत्रफलमध्ये सात हजार ३०३ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ। त्रियुगा, चौदण्डीगढी, बेलका र कटारीका समथर भूभाग तथा भित्री मधेसका फाँटहरूमा धान खेती हुँदै आए पनि सिँचाइ, गुणस्तरीय बीउ र संरक्षणका ठोस कार्यक्रम प्रभावकारी नबनाइए रैथाने बासमतीको मौलिक पहिचान नै गुम्ने जोखिम बढेको छ।

प्रकाशित: १ मंसिर २०८३ ८:२१ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast