विशेष महाधिवेशन हुँदै नियमित महाधिवेशन गरेर गगन थापा नेतृत्वको समूह अघि बढेपछि नेपाली कांग्रेसको आन्तरिक विवाद थप जटिल बनेको छ। पूर्व पार्टी सभापति शेरबहादुर देउवा पक्ष भने विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै नियमित १५औँ महाधिवेशनको प्रक्रियामा जिल्ला र क्षेत्रीय अधिवेशन गरिरहेको छ। यही विवादका बीच देउवा पक्षका नेता डा. प्रकाशशरण महतले पार्टी विभाजन भएर निर्वाचनमा जाने अवस्था नआउने र असन्तुष्ट साथीहरू मूलधारमा फर्किने दाबी गरेका छन्।
डा. महत नेपाली कांग्रेसको विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका नेता हुन्। २०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रह र २०४२ सालको सत्याग्रहमा सक्रिय उनी नेपाल विद्यार्थी संघको महामन्त्रीसमेत भएका थिए। पञ्चायतविरुद्धको राजनीतिक संघर्षका क्रममा पटकपटक जेल परेका महतले अमेरिकाको साउदर्न इलिनोइस विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। अध्ययन पूरा गरेर स्वदेश फर्किएपछि उनी पार्टी संगठन र नीतिगत काममा सक्रिय भए।
कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँग काम गरेको अनुभव सुनाउने महत अहिले देउवा पक्षको राजनीतिक अडानलाई सार्वजनिक रूपमा प्रस्तुत गरिरहेका छन्। कांग्रेसको आन्तरिक शक्ति संघर्ष, युवा पुस्ताको भूमिका, पार्टी कमजोर हुनुका कारण र प्रधानमन्त्री बालेन नेतृत्वको सरकारबारे महतसँग हिमालप्रेसले गरेको कुराकानी :
नेपाली कांग्रेस अहिले आन्तरिक विवाद र नेतृत्वको वैधानिकताको प्रश्नमा अल्झिएको छ। देउवा पक्षको अहिलेको तयारी के हो?
हामी अहिले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीमा छौँ। मंसिर २१-२३ गते नियमित महाधिवेशन सम्पन्न गर्ने हाम्रो योजना छ। जिल्ला अधिवेशन करिबकरिब पूरा भइसकेका छन्। केही जिल्लामा बाँकी छन्, ती पनि निर्धारित समयमै सम्पन्न हुनेछन्। क्षेत्रीय अधिवेशनसमेत पूरा हुने क्रममा छ।
हामीले विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन प्रक्रिया अघि बढाएका छौँ। अर्को कांग्रेस पनि छ, तर हामी सबैलाई स्वागत गर्न चाहन्छौँ। पार्टीको विचार, सिद्धान्त र आदर्श बुझ्ने साथीहरू अन्ततः मूलधारमा फर्किनुहुनेछ भन्ने हाम्रो विश्वास छ। शेरबहादुर देउवाकै नेतृत्वमा महाधिवेशन हुनेछ। उहाँ अभिभावकका रूपमा रहनुहुनेछ। कांग्रेसको विधानले पनि उहाँ अब सभापति हुन पाउनु हुन्न र उहाँले पहिले पनि आफू सभापति नहुने र एक चरण निर्वाचनमा गएपछि अधिवेशनपछि आकांक्षीलाई नेतृत्व हस्तान्तरण गर्ने कुरा थियो। तर कांग्रेस बिगारेर देशमा अराजकता ल्याउन खोज्नेको चंगुलमा केही युवा परेका हुन्। यसमा अलमल नगरी अब एक भएर अघि बढ्नुपर्छ।
कांग्रेसको इतिहास, विचार र सिद्धान्तलाई आत्मसात् गर्ने साथीहरू एक ठाउँमा आउनुपर्छ। अहिले केही असहज परिस्थिति देखिए पनि धेरै साथीहरूले गल्ती भएको महसुस गरेर यता आउने कुरा गरिरहनुभएको छ। त्यसैले कांग्रेस एक भएर अघि बढ्छ भन्नेमा कुनै शंका छैन।
विशेष महाधिवेशनबाट अर्को नेतृत्व अघि बढिसकेको छ। यस्तो अवस्थामा नियमित महाधिवेशनको तयारी र पार्टीको आधिकारिकताको प्रश्न कसरी मिल्छ?
यो विषय अहिले कानुनी प्रक्रियामा छ। शेरबहादुरजी उपचारमा रहनुभएको समयमा उहाँहरूले अनेक काम गर्नुभयो। त्यस क्रममा भएका कतिपय गतिविधि विधि र प्रक्रियाअनुसार थिए कि थिएनन् भन्ने प्रश्न उठेको छ। त्यसको छानबिन र कानुनी निरूपण हुनुपर्छ। अदालतबाट एउटा निष्कर्ष आउने नै छ। त्यसपछि के-के काम हुनु नपर्ने थियो भन्ने कुरा पनि स्पष्ट हुनेछ।
सुरुमा केही प्रयास र गतिविधिका कारण हामी पनि अन्योलमा थियौँ। अहिले परिस्थिति धेरै स्पष्ट हुँदै गएको छ। कैयौँ साथीहरूले गल्ती भएको महसुस गरेर हामीसँग सम्पर्क गरिरहनुभएको छ। हामीले पार्टीलाई विभाजित बनाएर अघि बढ्न खोजेका होइनौँ। सबैलाई समेटेर नियमित महाधिवेशन गर्ने हाम्रो चाहना हो। त्यसपछि दुई धार भएर निर्वाचनमा जानुपर्ने अवस्था आउने छैन।
गगनजीहरु आफैँ नेतृत्वमा रहने अनि आफैँ यो र त्यो भनेर कुरा गरेर हुन्छ र? उहाँलाई शेरबहादुरजीले बढी विश्वास गर्नुहुन्थ्यो। पार्टीमा गगनजीले भनेको कुरा नै लागू हुन्थे तर उहाँ बाहिर के-के भनेर आफूलाई अलग राख्ने गर्नुहुन्थ्यो। त्यो विगतको कुरा भयो । यसमा धेरै बहस भइसकेको छ। अहिले सबै छर्लंग भएको पनि छ।
शेरबहादुर देउवाले विशेष महाधिवेशनलाई निर्वाचन आयोगले हतारमा मान्यता दिएको र प्रमाणसमेत राम्रोसँग परीक्षण नगरेको बताउँदै आउनुभएको छ। के त्यस्तै भएको हो त? तपाईंको बुझाइ के हो?
त्यतिबेला निर्वाचनको माहोल थियो। निर्वाचन आयोगले निर्णय गरेपछि ठिकै होला भनेर सम्मानित अदालतले पनि त्यही मान्यता दिएको हुन सक्छ। तर प्रमाणहरू राम्ररी परीक्षण नगरी हतारमा निर्णय गरिएको भन्ने हाम्रो बुझाइ छ। त्यही कारण हामी अदालतको ढोकामा रह्यौँ। देशमा नयाँ पुस्ताले नयाँ निर्वाचन चाहेकाले त्यो समयमा बलजफती भएको कामचलाउ विशेष अधिवेशनको नेतृत्वको हस्ताक्षरमा उम्मेदवार भएर निर्वाचनमा होमियौँ। हामी देशको अवस्था हेरेर र भारी मन बनाएर निर्वाचनमा गाएका थियौँ।

पछि अदालतले अध्ययन गरेर निस्सा दिएको छ। त्यसैले हामीलाई न्यायालयबाट न्याय मिल्ने विश्वास छ। देशमा न्याय मरेको छैन भने अदालतले शेरबहादुरजीको नेतृत्वलाई वैधानिकता दिनेछ भन्ने हाम्रो विश्वास हो। अदालती प्रक्रियामा रहेकाले यो भन्दा बढी यो विषयमा बोल्न पनि सकिन्न। आधिकारिक कांग्रेसका रूपमा हामी नै रहनेछौँ भन्ने विश्वास छ। यही आधारमा हामी अहिले जिल्लजिल्ला पुगेर अधिवेशन गरिरहेका छौँ।
तपाईंहरूतिर पाका नेताहरू मात्रै छन् र युवा पुस्ता गगन थापातिर गएको छ भन्ने चर्चा छ। वास्तवमै युवा पुस्ताको समर्थन कता छ?
सुरुमा हामीलाई पनि त्यस्तै लागेको थियो। अहिले त्यस्तो रहेनछ भन्ने देखिएको छ। मलाई खुसी लागेको कुरा के हो भने केही असहज परिस्थिति हुँदाहुँदै पनि ठूलो संख्यामा युवा साथीहरू हामीसँगै रहनुभएको छ। हामी पहिला जिल्लाजिल्लामा खासै नघुमेका कारण पनि केही कुरा स्पष्ट हुन बाँकी रहेछन्। अब विगतको गल्तीलाई आत्मसात् गर्दै अघि बढ्नेछौँ । वास्तविक युवा अहिले हामीसँग रहेछन्।
युवा पुस्ताले पार्टीको विचार, सिद्धान्त र इतिहासलाई बुझ्नुपर्छ। उमेरले मात्रै युवा वा पाका भन्ने हुँदैन। पार्टीलाई कसरी अघि बढाउने, संगठनलाई कसरी बलियो बनाउने र जिम्मेवारी कसले कसरी निर्वाह गर्ने भन्ने मुख्य कुरा हो। गगन-विश्व बुढा भएर नै पार्टीको त्यो तहमा पुगेका हुन् र? म पीएचडी गरेर फर्कँदा कुन तहमा थिएँ भन्ने कुरा पनि छ। युवालाई गिरिजाबाबु, शेरबहादुरजी कसले साथ लिएनन र? अहिले युवा युवा भनेर मात्र हुन्छ?
अहिले सामाजिक सञ्जालमा एउटा भाष्य निर्माण गरिएको छ। त्यसले गर्दा युवा पुस्ता सबै एकातिर गएको जस्तो देखिएको हुन सक्छ तर पार्टीको मूल विचार र संस्थागत निरन्तरतामा विश्वास गर्ने युवा हामीसँग हुनुहुन्छ। कांग्रेसको भविष्यका लागि युवाको सहभागिता अपरिहार्य छ। हामी युवालाई अलग राखेर पार्टी अघि बढाउन चाहँदैनौँ।
तपाईंले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँग काम गर्नुभएको छ। अहिलेको विवादलाई कांग्रेसको लामो राजनीतिक अनुभवका आधारमा कसरी हेर्नुहुन्छ?
मैले कृष्णप्रसादजी, गिरिजाबाबु र शेरबहादुरजी सबैसँग काम गरेको छु। पार्टीभित्र विचार, शैली र नेतृत्वका विषयमा मतभेद पहिलेदेखि नै हुन्थे तर पार्टीको संस्थागत संरचना र सामूहिक जिम्मेवारीलाई सबैले महत्त्व दिनुपर्छ।
शेरबहादुरजीले युवाहरूलाई जिम्मेवारी दिनुभएको थियो। विश्वप्रकाश र गगनजी त उहाँसँग झन् नजिक हुनुहुन्थ्यो। पार्टीका महत्त्वपूर्ण काममा उहाँहरूकै भूमिका थियो। त्यसबेला हामीले केही विषयमा असहमति जनाउँदा महामन्त्रीले भनेको मान्नुपर्छ भन्ने जवाफ पनि शेरबहादुरजीबाट आउने गर्थ्यो।
त्यसरी जिम्मेवारी लिने अनि पछि सबै दोष सभापतिलाई मात्रै लगाएर हिँड्नु उचित होइन। पार्टीको जिम्मेवारीमा बसेका नेताहरूले आफ्नो हिस्साको जिम्मेवारी पनि लिनुपर्छ। महामन्त्रीको जिम्मेवारी भनेको संगठन चलाउने, पार्टीलाई एकताबद्ध राख्ने र नेतृत्वसँग समन्वय गर्ने पनि हो।
सामाजिक सञ्जालबाट निरन्तर प्रहार गर्ने र नेतृत्वको नकारात्मक छवि बनाउने कामले पार्टीलाई फाइदा गरेन। गगनजी र विश्वप्रकाशजीहरूको भूमिकाबारे पनि प्रश्न उठेका छन्। उहाँहरूको फन्डिङलगायत विषयमा समेत प्रश्न उठिरहेको छ। यी सबै विषयलाई पार्टीले गम्भीरतापूर्वक हेर्नुपर्छ।
कांग्रेसको पछिल्लो राजनीतिक क्षयीकरणमा गगन थापाको लोकप्रियतावादी शैली र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्य जिम्मेवार छ भन्ने तपाईंको भनाइ हो? यसले वालेन्द्र शाहको उदयलाई पनि सहयोग पुर्यायो?
त्यसमा कुनै शंका छैन। गगनजीको पपुलिजममा आधारित राजनीतिक भाष्यले अहिलेको परिस्थिति निर्माण गर्न भूमिका खेलेको छ। पार्टीभित्र नेतृत्वलाई निरन्तर कमजोर देखाउने र आफूले मात्रै परिवर्तनको प्रतिनिधित्व गरेको सन्देश दिने शैलीले कांग्रेसलाई क्षति पुर्यायो। त्यो उहाँले पनि एक्लै घोत्लिँदा महसुस गर्ने कुरा हो।

गगनजीले विगत एक दशकदेखि मेरो सभापति यस्तो र उस्तो भन्दै सार्वजनिक रूपमा आलोचना गर्दै आउनुभयो। महामन्त्रीको जिम्मेवारीमा रहेर पनि पार्टीको नेतृत्व र कार्यशैलीबारे निरन्तर प्रश्न उठाइयो। आफूले जिम्मेवारी पूरा नगर्ने अनि दोष सभापतिलाई दिने। त्यसले पार्टीको छवि कमजोर बनायो। आफैँ जिम्मेवारीमा रहने, पार्टीका काममा संलग्न हुने अनि पछि नेतृत्वलाई मात्रै दोष दिएर उम्किने उहाँको बानीले कांग्रेस यो अवस्थामा पुग्यो। अनि उहाँको आफ्नै पराजय पनि त्यसमा जोडिएला।
लोकप्रियता र संगठन निर्माण भिन्न कुरा हुन्। सामाजिक सञ्जालमा लोकप्रिय देखिनु र पार्टीलाई बलियो बनाएर जनताको विश्वास जित्नु एउटै होइन। गगनजीकै पपुलिजममा आधारित भाष्यले बालेनजीको उदयका लागि पनि राजनीतिक ठाउँ बनाएको हो भन्ने मेरो बुझाइ छ।
कताकती कम्युनिस्टसँग सहकार्य गरेका कारण यस्तो अवस्था आएको हो जस्तो लाग्दैन?
लाग्दैन। नेपालको अवस्था त्यस्तो छ। सहकार्यबिना सरकार बन्न नसक्ने थियो। अहिलेको दल रास्वपाले पनि त सहकार्य गरेको थियो। कांग्रेसको कमजोरीको कारण एउटै मात्र होइन। एमालेसँगको गठबन्धनका कारण मात्रै हामी पछि परेका हौँ भन्ने विश्लेषण सही होइन। रास्वपा पनि गठबन्धनमा थियो तर अहिले यो अवस्थामा छ। अनि भदौ २३ र २४ का घटना वा सरकारका निर्णयलाई मात्रै कारण मानेर कांग्रेसको अवस्था व्याख्या गर्न सकिँदैन। पार्टीभित्रको कार्यशैली, नेतृत्वप्रतिको धारणा र गलत राजनीतिक भाष्य पनि त्यसका कारण हुन्।
प्रधानमन्त्री बालेन नेतृत्वको सरकारलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
प्रधानमन्त्रीको नियत राम्रो होला भन्ने लाग्छ। उहाँले आफूले राम्रो गरिरहेको छु भन्ने ठान्नुभएको पनि हुन सक्छ तर नियत राम्रो हुनु र विधिसम्मत रूपमा काम गर्नु भिन्न कुरा हुन्। राम्रो गर्ने चाहना मात्रै पर्याप्त हुँदैन। त्यसका लागि प्रणाली, कानुन र संस्थागत प्रक्रिया स्पष्ट हुनुपर्छ।
सरकारले विधिसम्मत र कानुनअनुसार काम गर्नुपर्छ। त्यसमा अडेर अघि बढ्न सकियो भने मात्रै राम्रो परिणाम आउँछ। प्रधानमन्त्री र सरकारका अन्य जिम्मेवार व्यक्तिहरूले धेरै विषयमा सुझबुझ देखाउन आवश्यक छ। इमानदार भए पनि त्यसको कार्य सही ढंगले भएन भने परिणाम राम्रो आउँदैन। अहिल्यै सरकारको मूल्यांकन गरिहाल्ने अवस्था त छैन तर केही विषयमा सरकार चुकेको छ। यसमा सुधार हुन आवश्यक देख्छु।
वर्तमान सरकारबाट आमनेपाली नागरिकले गरेको अपेक्षा पूरा हुने देख्नुहुन्छ त?
केही गर्ने बाचा गरेर आएपछि आमनागरिकलाई सम्बोधन गर्न सक्नुपर्छ। प्रयास गरेको पनि देख्छु। तर कैयौँ विषयमा ढंग पुगेको देखिँदैन। विशेषगरी अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा के बोल्ने, कसरी प्रस्तुत हुने र नेपालको राष्ट्रिय हितलाई कसरी प्रतिनिधित्व गर्ने भन्ने कुरामा थप परिपक्वता चाहिन्छ।
नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको मुलुकका प्रधानमन्त्रीले सार्वजनिक अभिव्यक्ति दिँदा र अन्तर्राष्ट्रिय समुदायसँग व्यवहार गर्दा पर्याप्त तयारी र कूटनीतिक सन्तुलन देखाउनुपर्छ। यसका लागि बहस आवश्यक छ। त्यसमा प्रधानमन्त्री सामेल भएर काम गर्नुपर्छ। परराष्ट्रमा प्रधानमन्त्री आफैँले बढी चासो राख्न सक्नुपर्छ।
सरकारले आफ्नो कामको मूल्यांकन परिणामका आधारमा गराउनुपर्छ। लोकप्रिय अभिव्यक्ति र सामाजिक सञ्जालको प्रचारले मात्रै शासन प्रभावकारी हुँदैन। विधि, प्रक्रिया, संस्थागत क्षमता र जिम्मेवार कार्यशैलीबाट मात्रै सरकार सफल हुन सक्छ। यस विषयमा अलमल गर्नु हुँदैन।



