सुनसरी- सुनसरी तिहार नजिकिएसँगै सुनसरीको धरान बजारमा किनमेल गर्ने सर्वसाधारणको चहलपहल बढेको छ। विशेषगरी मिठाई, फलफूल, पूजासामग्री, फूलमाला र झिलीमिली बत्तीको व्यापार बढेपछि साना तथा ठूला व्यापारीलाई भ्याइनभ्याइ भएको छ।
धरान उपमहानगरपालिका-२ का नकुल दास बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भानुचोक घण्टाघर आसपास सडकपेटीमा तिहारका सामग्री बिक्री गर्न व्यस्त छन्। उनले किसमिस, नरिवल, मिठाई तथा झिलीमिली बत्तीलगायत सामग्री बिक्री गरेर तिहार खर्च जुटाएका छन्।
दासका अनुसार बिहान र साँझ ग्राहकको चाप बढी हुने गरेको छ। दिउँसो घामका कारण व्यापार केही सुस्त भए पनि साँझ बजारमा किनमेल गर्नेको भीड बढ्ने गरेको छ। उनको पसलमा दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको छ।
‘बिहान र साँझ व्यापार राम्रो हुन्छ। दिउँसो ग्राहक कम आए पनि साँझपख भीड बढ्छ,’ उनले भने, ‘अहिले दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ। तिहारको खर्च यही व्यापारबाट जुटाउने हो।’
तिहारलाई लक्षित गरेर धरानका मुख्य बजार तथा सडकपेटीमा अस्थायी पसल सञ्चालन गर्ने व्यापारीको सङ्ख्या पनि बढेको छ। बजारका गल्लीदेखि सडकपेटीसम्म दियो, माटाका पाला, अबिर, रङ, फूलमाला, मिठाई, मसला र झिलीमिली बत्ती बिक्रीका लागि राखिएका छन्। बिहानैदेखि साँझसम्म किनमेल गर्ने सर्वसाधारणको भीडले बजारलाई थप व्यस्त बनाएको छ।
फूलमाला, दियो र उज्यालोसँग जोडिएको तिहारमा घर सजाउने तथा पूजाका सामग्री खरिद गर्ने परम्परा रहेकाले यस समयमा व्यापार बढ्ने गरेको व्यवसायी बताउँछन्। विशेषगरी मिठाई र आधुनिक विद्युतीय बत्तीको माग बढ्दा मौसमी व्यापार गर्ने साना व्यवसायीले समेत आम्दानीको अवसर पाएका छन्।
धरान सब्जीमण्डीका झिलीमिली बत्ती व्यापारी राजन कोइरालाका अनुसार पछिल्लो समय परम्परागत दियोको तुलनामा आधुनिक झिलीमिली बत्तीप्रति उपभोक्ताको आकर्षण बढेको छ। अन्य समयमा सामान्य बिक्री हुने यस्ता बत्ती तिहारका बेला भने ठूलो परिमाणमा बिक्री हुने गरेको उनले बताए।
‘अहिले झिलीमिली बत्तीको बिक्री राम्रो छ। अन्य चाडपर्व र विवाहको समयमा थोरै बिक्री हुने भए पनि तिहारमा यसको माग अत्यधिक हुन्छ,’ उनले भने।
तिहारलाई लक्षित गरेर व्यापारीले केही महिनाअघिदेखि नै झिलीमिली बत्तीको व्यवस्था गर्ने गरेका छन्। अहिले विद्युतीय सामग्रीका पसलदेखि खुद्रा पसल र सडकपेटीका अस्थायी स्टलसम्म बत्ती बिक्री भइरहेको छ।
धरानको भानुचोक, सब्जीमण्डी, पुरानो बजारलगायत क्षेत्रमा तिहारका सामग्री खरिद तथा बिक्री गर्नेको चहलपहल बढेको छ। चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न सर्वसाधारण बजार पुग्न थालेपछि मौसमी व्यापार गर्ने व्यवसायी पनि उत्साहित भएका छन्।
सुनसरी उद्योग वाणिज्य संघका महासचिव प्रभाव खतिवडाले तिहार सुरु भएसँगै बजारको आर्थिक गतिविधि बढेको बताए। उनका अनुसार चाडपर्वले विशेषगरी सडकपेटी र गल्लीमा अस्थायी पसल सञ्चालन गर्ने साना व्यापारीलाई आम्दानी गर्ने अवसर प्रदान गरेको छ।
तर, बजारमा बढ्दो भीडसँगै सडक तथा फुटपाथ व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको उनले बताए। भीडका कारण सर्वसाधारणको आवागमनमा समस्या नहोस् र व्यापार पनि व्यवस्थित रूपमा सञ्चालन होस् भनेर प्रशासनसँग समन्वय भइरहेको उनको भनाइ छ।
चाडपर्वको रौनकसँगै धरान बजारमा बढेको किनमेलले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाएको छ। केही दिनको मौसमी व्यापारबाट आम्दानी गर्ने अवसर पाएपछि साना व्यापारीमा पनि तिहारको उत्साह थपिएको छ।



