बाढीपहिरो प्रभावित तीन सय विद्यार्थीलाई सहज फाउन्डेसनको शैक्षिक सहयोग

हिमाल प्रेस १८ कार्तिक २०८३ १६:०४ | Wednesday, November 4, 2026
6
SHARES
बाढीपहिरो प्रभावित तीन सय विद्यार्थीलाई सहज फाउन्डेसनको शैक्षिक सहयोग

काठमाडौँ- सहज फाउन्डेसनले जाजरकोटको भेरी नगरपालिका-२ र ३ का बाढीपहिरो प्रभावित करिब ३०० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

गत साउन ३० गतेको बाढीपहिरोबाट प्रभावित बालबालिकाको पठनपाठनलाई निरन्तरता दिन फाउन्डेसनले कात्तिक १६ गते कापी तथा अन्य स्टेसनरी सामग्री वितरण गरेको हो।

भेरी नगरपालिका-२ को रिसाङ र वडा नं. ३ को स्याँलास्थित सामुदायिक विद्यालयका विद्यार्थीलाई सामग्री उपलब्ध गराइएको फाउन्डेसनका अध्यक्ष डा. हरिकृष्ण बाँस्कोटाले जानकारी दिए।

गत भदौ ६ गते एक राष्ट्रिय दैनिकमा ‘बाढी प्रभावित विद्यार्थीका कापीकिताब पहिरोमा पुरिए’ शीर्षकमा समाचार प्रकाशित भएपछि फाउन्डेसनले प्रभावित विद्यार्थीलाई सहयोग गर्ने पहल गरेको थियो। नगरपालिकाको शिक्षा शाखा प्रमुख प्रमोद विष्ट र स्थानीय पत्रकार सरोज वलीसँगको समन्वयमा सहयोग जुटाइएको बाँस्कोटाले बताए।

उनका अनुसार विष्णु प्राथमिक विद्यालय, नरज्योति प्राथमिक विद्यालय र त्रिभुवन आधारभूत विद्यालयका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा जाजरकोटका संघीय सांसद खड्कबहादुर बुढा, भेरी नगरपालिकाका उपप्रमुख सीता जैसी, सम्बन्धित वडाका वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति थियो।

कार्यक्रममा सांसद बुढाले विपद्बाट प्रभावित बालबालिकाको शैक्षिक निरन्तरताका लागि सहयोग गरेको भन्दै फाउन्डेसनप्रति आभार व्यक्त गरे। उनले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा यस्ता सहयोगमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे।

फाउन्डेसनले सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि स्थानीय समुदाय तथा सरोकारवालासँगको सहकार्यमा विपन्न बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र शैक्षिक अवसर विस्तार गर्ने जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १६:०४ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast