रसुवा बाढीपछि लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको चहलपहल

हिमाल प्रेस १८ कार्तिक २०८३ १३:४८ | Wednesday, November 4, 2026
12
SHARES
रसुवा बाढीपछि लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको चहलपहल

रसुवा-भोटेकोशीमा आएको बाढीका कारण करिब दुई महिना सुनसानजस्तै बनेका रसुवाका प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ र गोसाइँकुण्डमा पुनः चहलपहल बढ्न थालेको छ ।

गत भदौ १० गतेको बाढीले सडक तथा पदमार्गमा क्षति पुर्‍याएपछि प्रभावित बनेको पर्यटन क्षेत्र यातायात र पदमार्गमा सुधार भएसँगै विस्तारै पुरानै लयमा फर्किन थालेको हो । वेत्रावतीमा बेलिब्रिज निर्माण भई सडक सञ्जाल पुनः जोडिएपछि पर्यटकको आवागमन बढ्न थालेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाढीका कारण दुई महिनासम्म पर्यटकीय गतिविधि पूर्ण रूपमा प्रभावित भएको थियो । सडक सम्पर्क पुनः स्थापित भएपछि भने पर्यटकको आगमन क्रमशः बढ्दै गएको छ ।

पर्यटन तथा होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन उत्साहजनक रूपमा सुरु भएको बताए ।

बाढीले केही समय सडक र पदमार्गमा अवरोध पुर्‍याए पनि अहिले मार्ग सहज भएकाले पर्यटक निर्धक्क भएर गन्तव्यतर्फ जान थालेको उनले बताए ।

गोसाइँकुण्ड मार्गमा होटल सञ्चालन गर्दै आएका व्यवसायी पासाङ ध्युमीले बाटो खुलेसँगै धार्मिक तथा प्राकृतिक महत्त्व बोकेको गोसाइँकुण्ड पुग्ने पर्यटकको चहलपहल बढेको बताए । पर्यटकको आगमनले लामो समयदेखि प्रभावित व्यवसायमा पुनः आशा जगाएको उनको भनाइ छ ।

लाङटाङ भ्रमणमा पुगेका नुवाकोटको नर्जाकी शारदा खनाल र उनका छोराले बाढीपछि बाटोको अवस्थाबारे आफूहरूमा रहेको आशङ्का भ्रमणपछि हटेको बताए ।

´बाढीका कारण बाटो अप्ठ्यारो होला कि भन्ने डर थियो, तर बाटो सहजै रहेछ । हामीले ढुक्कसँग प्रकृतिसँग रमाएर यात्रा पूरा गर्‍यौँ,` उनीहरूले भने।

लाङटाङका स्थानीय होटल व्यवसायी निमा लामाले पनि लामो समयपछि पर्यटक आउन थालेकामा खुसी व्यक्त गरे । पर्यटकको आवागमन बढेसँगै आगामी दिनमा व्यवसायसमेत चलायमान हुने विश्वास उनले व्यक्त गरे ।

शरद ऋतुको पर्यटकीय याम सुरु हुनु र मौसममा सुधार आउनुले पनि रसुवाका पर्यटकीय क्षेत्रमा चहलपहल बढाउन सहयोग गरेको छ । मानव बस्ती नजिकै रहेको हिमनदी तथा लाङटाङको क्याङजेन क्षेत्रका मनोरम प्राकृतिक दृश्यले पर्यटकलाई आकर्षित गरिरहेका छन् ।

पर्यटन व्यवसायी डिण्डुप तामाङले पर्यटकको चहलपहल बढ्न थालेपछि स्थानीय व्यवसायीमा नयाँ उत्साह थपिएको बताए । पछिल्लो समय लाङटाङको पदयात्रा युवा पुस्तामाझ समेत लोकप्रिय बन्दै गएको उनको भनाइ छ ।

पर्यटन तथा होटल व्यवसायी सङ्घका अनुसार पछिल्लो समय गोसाइँकुण्ड र लाङटाङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दैनिक रूपमा बढिरहेको छ । क्याङजेन क्षेत्रका होटल व्यवसायी ग्याल्बु तामाङले पदमार्ग सुरक्षित र सहज बनेसँगै रसुवाको पर्यटन उद्योगले पुनः गति लिन थालेको बताए ।

प्रकाशित: १८ कार्तिक २०८३ १३:४८ | Wednesday, November 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast