काठमाडौँ- कर्णाली याक्सलाई रोमाञ्चक रूपमा ४ विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो। दोस्रो खेलमा पहिलो जित निकालेको काठमाडौँले यसअघि जनकपुर बोल्ट्ससँग ८ विकेटको हार बेहोरेको थियो।
यससँगै कर्णालीको अपराजित यात्रा पनि टुंगिएको छ। तेस्रो खेल खेलिरहेको कर्णालीले पहिलो हार व्यहोरेको हो। यसअघि कर्णालीले जनकपुरलाई १९ रनले र विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो।
काठमाडौँको जितमा राशिद खान र करण केसीले महत्त्वपूर्ण योगदान दिए। राशिदले ३३ बलमा ३ चौका र २ छक्कासहित अर्धशतकीय पारी खेले। उनी हुसैन तलातको बलमा क्याच आउट भए।
पाँचौँ विकेटका लागि राशिद र करणले ५५ रनको साझेदारी गर्दै काठमाडौँलाई जितको नजिक पुर्याए। करणले आक्रामक ब्याटिङ गर्दै २० बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए। उनी सोमपाल कामीको बलमा अरिफुल इस्लामबाट क्याच आउट भए।
यसअघि तेस्रो विकेटका लागि आदिल आलम र राशिदले ५४ रनको साझेदारी गरेका थिए। आदिलले २० रन बनाएर मार्क वाटको बलमा गुल्सन झाबाट क्याच आउट भए।
डेभिड वार्नरले १० बलमा ३ चौकासहित १६ रन बनाए। उनी सोमपाल कामीको बलमा बोल्ड भए। स्मित पटेलले ९, भीम सार्कीले ५, जहान्दाद खानले २२ र सन्तोष यादवले ५ रन जोडे।
कर्णालीका लागि हुसैन तलात र सोमपाल कामीले समान २ विकेट लिए। मार्क वाट र नन्दन यादवले एक एक विकेट हात पारे।
यसअघि टस जितेर फिल्डिङ रोजेको काठमाडौँविरुद्ध ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो।
कर्णालीका ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५ चौका र ३ छक्कासहित ४४ रन बनाए। उनी शाहब आलमको बलमा डेभिड वार्नरबाट क्याच आउट भए।
मार्क वाटले १७ रन बनाए। जिसन आलमले ७ र दीपक डुम्रेले ८ रनको योगदान दिए।
पाँचौँ विकेटका लागि पवन सर्राफ र हुसैन तलातले ६५ रनको महत्त्वपूर्ण साझेदारी गरे। हुसैनले ३० बलमा एक चौका र २ छक्कासहित ४० रन बनाए। उनी जहान्दाद खानको बलमा हिट विकेट भए।
गुल्सन झाले १२ बलमा २ छक्कासहित २० रन जोडे। उनी करण केसीको बलमा राशिद खानबाट क्याच आउट भए। पवन सर्राफ २४ र सोमपाल कामी १ रनमा अविजित रहे।
काठमाडौँका लागि करण केसीले २ विकेट लिए। शाहब आलम, जहान्दाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट हात पारे।



