काठमाडौँ- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ कात्तिक २४ गते कार्यकाल सकिएपछि मुलुकमा पूरा पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख बन्ने भएका छन्।
२०७८ कात्तिक २३ गते नियुक्त भएका खापुङ प्रदेश सरकारमा पटक–पटक परिवर्तन हुँदा पनि पदमा कायम रहे। उनीसँगै नियुक्त भएका अन्य प्रदेश प्रमुख भने पाँचवर्षे कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए।
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार प्रदेश प्रमुख खापुङसँग बिदाइ भेट गरेका छन्। भेटका क्रममा कार्कीले प्रदेशको विकास र समृद्धिमा खापुङले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिए।
खापुङले पनि पछिल्लो पाँच वर्षमा आफ्नो कार्यालयलाई प्रदेश सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरे।
नेपालको संविधानको धारा १६३ मा प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने व्यवस्था छ। संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक प्रावधान छ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जनता समाजवादी पार्टी (जसपा) नेपालको सिफारिसमा २०७८ कात्तिक २३ गते खापुङलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो। देउवा सरकारले सोही दिन कर्णाली प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशीलाई पनि नियुक्त गरेको थियो। तर दुवैजना पाँचवर्षे कार्यकाल पूरा नहुँदै पदमुक्त भए। परियार २०८१ साउन १६ र जोशी २०८० फागुन ३० गते पदमुक्त भएका थिए।
खापुङको कार्यकालमा कोशी प्रदेशमा पटकपटक सरकार परिवर्तन भए। फरकफरक राजनीतिक गठबन्धनका मुख्यमन्त्री बने पनि प्रदेश प्रमुखका रूपमा खापुङको पद भने यथावत् रह्यो।
खापुङ प्रदेश प्रमुख नियुक्त हुँदा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रकुमार राई मुख्यमन्त्री थिए। २०७९ पुस २५ मा राईलाई विस्थापित गर्दै नेकपा (एमाले) का हिक्मतकुमार कार्की मुख्यमन्त्री बने। सोही वर्ष असार २२ मा नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भए।
सर्वोच्च अदालतले थापालाई पदमुक्त गरेपछि २०८० भदौमा कार्की पुनः मुख्यमन्त्री बने। उनले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन्। त्यसपछि कांग्रेसका अर्का नेता केदार कार्की २०८० असोज २७ मा मुख्यमन्त्री बने। २०८१ वैशाख २७ मा हिक्मतकुमार कार्कीले उनलाई विस्थापित गरे।
खापुङ कोशी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुन्। प्रदेशका पहिलो प्रमुखका रूपमा गोविन्द सुब्बा २०७४ माघमा नियुक्त भएका थिए। उनी पाँचवर्षे कार्यकाल पूरा नहुँदै २०७६ कात्तिकमा पदमुक्त भए। उनको स्थानमा २०७६ कात्तिक १८ मा सोमनाथ अधिकारी नियुक्त भए। उनी पनि कार्यकाल पूरा नहुँदै पदमुक्त भए।
अधिकारीलाई विस्थापित गर्दै २०७८ कात्तिक २३ मा खापुङ प्रदेश प्रमुख नियुक्त भएका थिए। संघीयता कार्यान्वयनमा आएपछि पूरा पाँचवर्षे कार्यकाल सम्पन्न गर्ने पहिलो प्रदेश प्रमुख बन्ने बाटोमा उनी छन्।
खापुङ पूर्वपञ्च हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीसमेत भइसकेका उनी २०४३ सालमा जनपक्षीय उम्मेदवार भई तेह्रथुम जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए।
२०४६ सालको जनआन्दोलनका बेला खानेपानी सहायकमन्त्री समेत रहेका उनले राप्रपा नेपालबाट वाणिज्य तथा आपूर्तिमन्त्रीको समेत कार्यभार सम्हालेका थिए।



