काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ९३० जना शिक्षकलाई निवृत्तिभरण अधिकारपत्र जारी गरेको छ।
कार्यालयले ०८३ साउनदेखि असोज मसान्तसम्मको अवधिमा शिक्षकको सेवा अभिलेख व्यवस्थापन, तलबी प्रतिवेदन पारित, सम्पत्ति विवरण दर्ता तथा अवकाशपछिका सुविधासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाएको हो।
किताबखानाको सार्वजनिक विवरणअनुसार उक्त अवधिमा देशभरका ६०९ स्थानीय तहबाट प्राप्त शिक्षकको तलबी प्रतिवेदन पारित गरिएको छ।
त्यस्तै, ९७ हजार ७३७ जना शिक्षकको सम्पत्ति विवरण दर्ता गरिएको छ। शिक्षकको सेवा सुविधासँग सम्बन्धित अन्य कामअन्तर्गत १५० जनाको ग्रेड एकीन र ८८ जनाको प्राविधिक ग्रेड निर्धारण गरिएको छ।
शिक्षकको व्यक्तिगत तथा सेवासम्बन्धी अभिलेख व्यवस्थापनतर्फ पाँच जनाको सिटरोल दर्ता गरिएको छ भने अनिवार्य अवकाशमा जान लागेका एक हजार ५३० जना शिक्षकलाई अवकाशसम्बन्धी जानकारी व्यवस्थापन गरिएको छ।
यसै अवधिमा दुई हजार ५०० जना शिक्षकका कागजात स्क्यान गरी डिजिटल अभिलेखमा अपलोड गरिएको कार्यालयले जनाएको छ।
राष्ट्रिय किताबखानाले अवकाशप्राप्त शिक्षक तथा उनीहरूका परिवारलाई उपलब्ध गराउने सेवासमेत प्रभावकारी बनाएको विवरणमा उल्लेख छ। तीन महिनाको अवधिमा ९३० जनालाई निवृत्तिभरण अधिकारपत्र जारी गरिएको छ भने १०१ जनाको उपदान निर्धारण गरिएको छ।
त्यस्तै, १८ जनालाई पारिवारिक निवृत्तिभरण, ८३१ जनालाई आजीवन पारिवारिक वृत्ति, ९३२ जनाको औषधि उपचार खर्च सुविधा र ९३२ जनाको बिरामी बिदाको सुविधा निर्धारण गरिएको छ।
यस अवधिमा ७६ जनाको इच्छाइएको व्यक्ति कायम वा परिवर्तन, ४५२ जनाको विवरण संशोधन, २७ जनाको निर्णय पर्चा जारी र ३८ जनाको निवृत्तिभरण अधिकारपत्र संशोधन गरिएको छ।
कार्यालयले बहालवाला तथा अवकाशप्राप्त स्थायी शिक्षकको वैयक्तिक विवरण संशोधन, सेवा अभिलेख प्रमाणीकरण र निवृत्तिभरणसम्बन्धी समस्या समाधानलाई पनि आफ्नो प्रमुख सेवाका रूपमा राखेको छ।
शिक्षकको सेवा अभिलेख र अवकाशपछिको सुविधा वितरणलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ईपेन्सन प्रणालीलाई समेत अघि बढाइएको छ। कार्यालयको विवरणअनुसार ईपेन्सन जारी भएका जिल्ला १० वटा पुगेका छन् भने हालसम्म २८ जना शिक्षकले यस प्रणालीमार्फत सेवा प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ मा शिक्षकको सिटरोल दर्ता तथा अवकाशपछिको सेवा सुविधासम्बन्धी आधार र प्रक्रिया मन्त्रालयबाट स्वीकृत भएपछि सोहीअनुसार ईपेन्सन प्रणालीको सफ्टवेयर अद्यावधिक गरिएको छ।
यस्तै, शिक्षकको सेवा अभिलेखलाई डिजिटल प्रणालीमा राख्ने, पुराना कागजात स्क्यान गर्ने र सेवा प्रवाहलाई सहज बनाउने कामलाई निरन्तरता दिइएको छ।
किताबखानाले शिक्षकको सेवा अभिलेख व्यवस्थापनमा पुराना अभिलेख अपूर्ण हुनु, विभिन्न निकायमा विवरण फरक फरक अवस्थामा रहनु, निवृत्तिभरणका लागि आवश्यक कागजात अपूर्ण हुनु तथा सेवा अवधि यकिन गर्न कठिनाइ हुनुलाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ।
त्यस्तै, स्थानीय तहबाट शिक्षकको तलबी प्रतिवेदन तोकिएको समयमा प्राप्त नहुनु, पुराना अभिलेख डिजिटलकरण गर्न बजेट अभाव हुनु तथा सूचना प्रविधिसम्बन्धी पूर्वाधार र दक्ष जनशक्तिको कमीले सेवा प्रवाहमा कठिनाइ भइरहेको विवरणमा उल्लेख छ।
यी समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय, सेवा अभिलेख रुजु तथा प्रमाणीकरण, आवश्यक कागजातको चेकलिस्ट लागू गर्ने र स्थानीय तहलाई नियमित परिपत्र तथा प्राविधिक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको कार्यालयले जनाएको छ।



